बागलुङमा खेलकुद पत्रकारीता तालिम सुरु

बागलुङ, १८ माघ
बागलुङका क्रियाशिल पत्रकारहरुको लागि शुक्रबारदेखि २ दिने खेलकुद पत्रकारीता तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको सहकार्यमा सुरु भएको तालिमको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले तालिमबाट जिल्लाको खेलकुदको विकासको लागि पत्रकारहरु समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको थियो । उहाँले खेलकुद मनोरञ्जन र स्वास्थ्यको लागि मात्र नभई अनुसासनको लागि पनि आवश्यक रहेको बताउँदै जिल्लाको खेलकुदको प्रचार प्रसारको लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
उद्घाटन सत्रमा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियार, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङ्ग र पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष राम बहादुर जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको स्वागत सल्लाहकार कोपिला कंडेल र संचालन सचिव राम थापा अविरलले गर्नुभएको थियो ।
शनिबार सम्पन्न हुने तालिमका खेलकुद समाचार कसरी लेख्ने बारेमा खेलकुद पत्रकार मञ्चका महासचिव तथा हाम्रो खेलकुद डट कमका प्रधानसम्पादक प्रकाश तिमिल्सीना र मञ्चका प्रवक्ता तथा कान्तिपुर एफएमका स्टेशनर म्यानेजर पवन आचार्यले सहजिकरण गर्नुहुनेछ । तालिममा बागलुङ जिल्लाका २१ जना पत्रकारहरुको सहभागिता रहेको छ ।