गरिमा च्याम्पियनसिप क्रिकेट हुने

बागलुङ, १७ माघ
गरिमा च्याम्पियनसिप ट्रफी अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०७५ माघ २६ देखि हुने भएको छ ।
गरिमा (डिग्नीटी) आवासीय माध्यमिक विद्यालय तथा डिग्नीटी कलेज बागलुङले गर्दै आएको उक्त प्रतियोगिता माघ २६ देखि फागुन ३ गतेसम्म बाङ्गेचौर खेलमैदानमा आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
बागलुङ, पर्वत र म्याग्दीका विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने गरिमा आवासिय माविका प्रिन्सिपल श्यामप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार प्रतियोगितामा प्रत्येक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । विद्यालयहरुले आफ्नो टिममा बागलुङ, पर्वत र म्याग्दीका २ जना बाहिरी विद्यार्थीहरुलाई टिममा राख्न पाउनेछन् ।
विद्यालयका प्रिन्सिपल शर्माले गतवर्षहरुमा १८ ओटा विद्यालयहरुले सहभागिता जनाएको बताउँदै यस वर्ष ३ जिल्लाका २० ओटा विद्यालयहरुले सहभागिता जनाउने आशा व्यक्त गरे ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले बागलुङमा पछिल्लो समयमा क्रिकेटको क्रिेज बढ्दे गएको र गरिमा विद्यालयले प्रतियोगिता आयोजनाले विद्यार्थीहरुलाई आफ्नो खेल देखाउने अवसर रहेको बताउनुभयो ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सियलको नियमअनुसार खेलाइने उक्त प्रतियोगितामा एल.बी.डब्लयुको नियम लागु नगरिने आयोजकले जनाएको छ । प्रतियोगिता संचालनको लागि २ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको आयोजकले प्रायोजकहरु खोज्ने र बाँकी खर्च विद्यालयले व्यहोर्ने जनाएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।