मेयरकप फुटबल यस वर्ष अनिश्चित ! राष्ट्रिय दिवसको अवसरमा गछौंः नगरप्रमुख पौडेल

अर्जुन कार्की
बागलुङ, १६ माघ ।
आज माघ १६ अर्थात शहिद दिवस । आज देशभर देशको लागि बलिदान दिएका विर ज्ञात तथा अज्ञात सहिदहरुलाई सम्झने गरिन्छ र बागलुङमा पनि विभिन्न कार्यक्रम गरेर सम्झियो ।
आज सहिद दिवस भएकाले बागलुङका फुटबल खेलप्रेमिहरुले सहिदसँगै गतवर्षदेखि संचालन भएको मेयर कप फुटबल प्रतियोगितालाई पनि सम्झिएका छन् ।
गतवर्षदेखि बागलुङ नगरपालिकाको आयोजनामा सहिद दिवसको अवसरमा हरेक वर्ष मेयरकप फुटबल गर्ने भनेर नगरप्रमुख जनकराज पौडेलले घोषणा गरेका थिए । नगरप्रमुख पौडेलको घोषणा अनुसार गतवर्ष गण्डकी प्रदेशका नगरपालिकाहरु विच मेयरकप फुटबल सफलता पूर्वक सम्पन्न भयो । गतवर्ष स्याङ्गजाको वालिङ नगरपालिकाले पोखरा लेखनाथ महानगरपालिकालाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
यस वर्षपनि मेयरकप फुटबल गर्ने भनेर नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । जिल्लाका खेलप्रेमि तथा फुटबल प्रेमिहरुले यस वर्षपनि सहिद दिवसको अवसर मेयरकप फुटबल हुनेछ भनेर आशा गरेका थिए तर प्रतियोगिता कहिले हुने निश्चित नै नहुँदा आशामै सिमित भएको छ ।
नगरप्रमुखले गतवर्ष घोषणा गरेको उक्त प्रतियोगिता भने यस वर्ष सहिद दिवसमा भएन । अझ भनौं कहिले हुनेहो त्यो पनि कसैलाई थाहानै छैन ।
गतवर्षको मेयरकप जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघको सहकार्यमा सम्पन्न भएको थियो । तर यस वर्ष मेयरकप फुटबल प्रतियोगिता कहिले हुन्छ भन्ने नत जिल्ला खेलकुद विकास समितिलाई नै थाहा छ न त जिल्ला फुटबल संघलाई नै ।
नगरपालिकाले यसवर्षदेखि नगरखेलकुद विकास समिति गठन गरेर प्रतियोगिताको आयोजना गर्न नगरखेलकुदलाई नै दिने भन्ने हल्ला केहि समय पहिले चलेपनि अझै समिति गठन समेत भएको छैन् ।
यस वर्ष मेयरकप फुटबल हुन्छकी हुन्न भन्ने बारेमा नगरप्रमुख जनकराज पौडेलले अझै प्रष्ट धारणा दिन सकेका छैनन् ।
नगरप्रमुख पौडेलले यस वर्ष गतवर्षभन्दा राम्रो प्रतियोगिता आयोजना गर्ने तयारी गरेकाले प्रतियोगिता शहिद दिवसमा गर्न नसकिएको बताए । ‘हामीले गतवर्षदेखि शहिद दिवसको दिनमा मेयरकप फुटबल प्रतियोगिता संचालन गरेका थियौं’, नगरप्रमुख पौडेलले भने–‘अहिले नगरपालिकाबाट खेल्ने खेलाडीहरु धेरै क्लबमा सम्लग्न भएको र क्लबले फुकुवा नगरेसम्म नगरपालिकाबाट खेल्न नसक्ने जानकारी दिएकाले प्रतियोगिता ढिलो हुन गएको हो ।’ नगरप्रमुख पौडेलका अनुसार यस वर्षको मेयरकप फुटबल प्रतियोगितामा ए डिभिजन क्लबहरुलाई सम्लग्न गराएर संचालन गर्ने तयारी गरिएको छ । पौडेलका अनुसार १२ ओटा जति ए डिभिजन क्लबहरु ल्याएर संचालन गर्ने वा नगरपालिकाहरु विच मात्र गर्ने भन्ने अझै फाइनल नभएको बताए ।
नगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सहकार्य गरेर क्लबहरुको समयको बारेमा जानकारी लिइरहेको जनाएको छ । धेरै स्थानमा फुटबल प्रतियोगिता भइरहेकाले ए डिभिजन क्लबहरुले समय निकाल्न नसकेकाले प्रतियोगिता कहिले संचालन गर्ने भन्ने बारेमा फाइनल हुन नसकेको नगरपालिकाले जनाएको छ ।
यस वर्ष नगरपालिकाहरु र ए डिभिजन क्लब दुवैलाई समेटेर प्रतियोगिता संचालन गर्ने तयारी पनि गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । पौडेलका अनुसार फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आयोजना गर्ने तयारी समेत गरिएको छ । ‘ए डिभजिन क्लबहरुको समय मिलेमा उक्त समयमा गर्नेकी भन्ने योजना रहेको छ,’ नगरप्रमुख पौडेलले भने–‘फागुन ७ मा नभए कुनै राष्ट्रिय दिवसको दिनमा गर्न सकिन्छ ।’ नगरप्रमुख पौडेलले मेयरकप फुटबल प्रतियोगिता जिल्लाकै गौरवको प्रतियोगिता भएकाले राष्ट्रिय दिवसको अवसरमा गरिने बताए ।
प्रतियोगिता कहिले हुने हो समय थाहा नभएपनि नगरपालिकाले बागलुङमा पहिलो पटक ए डिभिजन क्लबहरु ल्याएर फुटबल प्रतियोगिता गर्ने जानकारी दिँदा राम्रो सन्देश पैदा गरेको छ । मेयरकपमा राष्ट्रिय खेलाडीहरुको वर्चास्व रहेका ए डिभिजन क्लबहरु आएर खेल्दा जिल्लाको खेलकुदले उचाई लिने छ ।