
बागलुङ, १४ माघ ।
नेपाली क्रिकेट टिमले पहिलो पटक एकदिवसीय सिरिज जित्दै ईतिहास रचेको छ । नेपालले सोमबार युएईलाई अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात्पार्दै समग्रमा २–१ ले जित्दै ईतिहास रचेको हो ।
पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शान्दार जित दर्ता गर्न सफल रह्यो ।
पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।
यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।
यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
कप्तान खड्काले सतउत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।
१९ रनको क्षतिमा ओपनर विनोद भण्डारीलाई गुमाएपछि क्रिजमा आएका पारसले उपकप्तान ज्ञानेन्द्र मल्ल (३१ रन) को राम्रो साथ पाए । दिपेन्द्र ऐरी (६ रन), पहिलो खेल खेलिरहेका सन्दिप जोरा (१९ रन) र रोहित पौडेल (१६ रन) छिट्टै आउट भएपनि एक तर्फबाट पारसले नेपालको इनिङ्स सम्हाले ।
३९ औं ओभरमा पारस आउट भएपछि सोमपाल कामी (२६ रन) र रोहित पौडेल (२१ रन) मिलेर ४४ ओभर ४ बलमा नेपालको जित सुनिश्चित गरे ।
यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २ सय ५५ को लक्ष्य पाएको थियो । सुरुवातमा राम्रो तथा कसिलो बलिङ गरे पनि पछिल्लो १५ ओभर नेपालको लागि खर्चिलो सावित भयो ।
खराब सुरुवात गरेको यूएई कुनै समय ५० ओभर पुरै टिक्न नसक्ने अवस्थामा पुगेको थियो । तर पाँचौ विकेटका लागि अनवार र सि.पि रिजवानले २० ओभर २ बलमा ४७–४ को अवस्थामा रहेको यूएईलाई १ सय रनको शतकीय साझेदारी गर्दै ४२ ओभरमा १४७-५ को बलियो अवस्थामा पुर्याएपछि यूएईले नेपाललाई गतिलो चुनौती पेश गरेको हो ।
अन्तिम १६ ओभरमा नेपालका बलरले १ सय ५४ रन खर्चेका थिए । यूएईलाई विशाल योगफल तयार पार्न उत्कृष्ट ब्याटिङ गरेको अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोदबाट क्याच गराउदै तोडेका थिए । रिजवानले ७६ बलमा ५ चौका प्रहार गरे ।
त्यस्तै आक्रममक ब्याटिङ गर्दै मोहम्मद बुटाले पनि अर्धशतक बनाए । नेपालका लागि करण केसी र पारस खड्काले २-२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रहयो ।










