
बागलुङ, १४ माघ ।
शनिबार पोखरामा सम्पन्न भएको हिमालयन कम्प्युटर गण्डकी “गण्डकी प्रदेश तेक्वोन्दो प्रतियोगिता २०७५”मा बागलुङले दोस्रो स्थान हात पारेको छ ।
बागलुङले ३ स्वर्ण २ रजत र ५ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान बनाउँदा कास्की जिल्लाले ४ स्वर्ण, २ रजत र ३ कास्य सहित प्रथम स्थान हासिल गरेको थियो ।
बागलुङ जिल्लालाई स्वर्ण पदक दिलाउन पुरुष ६३ केजीमा देवेन्द्रराज लामा, महिला तर्फ ५७ केजीमा करिष्मा सुनार र ६२ केजीमा ममता खड्काले सफल भएका थिएन । लामाले कास्कीका कृष्ण श्रेष्ठ, सुनारले कास्कीकी सान्ती भण्डारी र खड्काले कास्कीकी प्रकृति अधिकारीलाई हराउँदै स्वर्ण पदक प्राप्त गरेका थिए ।

यस्तै ५८ केजीमा बागलुङका खगेन्द्र सुवेदी र ६८ केजीमा विशाल पौडेलले रजत पदक प्राप्त गरेका छन् । फाइनलमा कास्कीका हेमन्त गुरुङसँग पराजित हुँदै पौडेलले रजत पदकमा चित्त बुझाएका थिएभने सुवेदीले पर्वतका सुरज कंडेलसँग पराजित भएका थिए ।
बागलुङलाई कास्य पदक दिलाउनेमा ४६ केजी मुनी थमकुमारी मगर, ४९ केजी मुनी रेखा थापा, ७४ केजी मुनी विक्रम दर्जी, ५३ केजी मुनी दिसाना नेपाली र ५४ केजी मुनी मिन बहादुर विक रहेको बागलुङ टिमका प्रशिक्षक नन्दु विष्टले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका ११ जिल्लाको ६ जिल्लाको सहभागीता रहेको सो प्रतियोगितामा ५२ वाउटहरु खेलाइएको थियो ।










