
बागलुङ, १२ माघ
बागलुङका उच्च पहाडी भुभागहरुमा शुक्रबार रातीदेखि बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो ।

जिल्लाको काठेखोला गाउँपालिकाको विहुँ, रेश, भिमापोखरा, धम्जा, तंग्राम, बागलुङ नगरपालिकाको तितौरे, सिगाना, भकुण्डे, रायडाँडा, गल्कोट नगरपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाको उपल्लो पहाडी भेगमा बाक्लो हिउँ परेको छ ।

हिमपात भएका स्थानहरुको जनजिवन कष्ठकर बनेको छ । हिमपात हुँदा कृषकहरु खुसी भएता पनि जनजिवन कष्ठकर हुँदा समस्या परेको छ । बागलुङ बजारदेखि नजिकैको स्थानहरुमा पनि हिमपात भएकाले हिउँ खेल्न जानेहरु शनिबार विहानै देखि उक्त स्थानमा हिडेका छन् ।
गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मंगलबार वर्षा र शुक्रवार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।










