राजेशचन्द्र राजभण्डारी
प्रसंग १
अहिले दिनहुँजसो सवारीसाधन एकपछि अर्को दुर्घटनाको शिकार बनिरहेको छ । हामीले दिनहुँ दुर्घटनामा यति जनाको ज्यान गयो दर्जनौं सर्बसाधारण घाइते भएको खबर सुनिरहेका छौ । यो सुन्ने हामी नेपालीको नियमित प्रक्रिया जस्तो भइसकेको छ भन्दा फरक पर्दैन होला । म्याग्दीबाट नारायणगढको लागि छुटेको यात्रुबाहक बस पर्वत जिल्लाको कुश्मा नगरपालिका १ मालढुङ्गामा दुर्घटना हुँदा ७ जना यात्रुले अकाल मै ज्यान गुमाउन पुगे भने ३ दर्जनभन्दा बढी यात्रु घाइते मात्रै हैन अंग भंग हुन पुगेका छन् । साच्चै हाम्रो देशमा किन दुर्घटनाको घटना घटिरहेको छ यसबारे कसैलाई खासै चासो देखिदैन । आज दुर्घटना हुन्छ हामी सबैले यसबारे एकछिन गम्भीर हुन्छौं अनि फेरि त्यसबारे वास्ता नै गर्दैनौं फेरि अर्को ठाउँमा अर्को दुर्घटना हुन्छ अनि फेरि चर्चा परिचर्चा गर्छौ बस्ः यसरी नै चलिरहेको छ हाम्रो दिनचर्चा ।

अहिले भएको बस दुर्घटनाको कारण बारे कसैलाई चासो हुँदैन नारायणगढसम्म जानको लागि टिकट काटेका यात्रुलाई पुरानो बसमा चढाउने काम भयो, क्षमता भन्दा बढी यात्रु पुरानो थोत्रो सवारीसाधन मनपरि हकाइ आफ्नो साइड भन्दा बिपरित दिशा तर्फ बस खस्नु सबै कुरालाई बिश्लेषण गर्दा हामीकहाँ अहिले पनि कसरी यातायातको साधन चलिरहेको छ भन्ने उदाहरण हो । साच्चै सेण्डिकेट अन्त्य भएको सरकारले घोषणा गरेपनि यो सबै त्यसैको परिणाम हो भन्दा फरक पर्दैन ।
एकजनाले ड्राइभरको कारणले ७ जना यात्रुले मृत्यु हुनु र ३२ जना यात्रु घाइते हुन पुगे । एउटा मिठो सपना बोकेर यात्रा गरिरहेका यात्रुको सपना मालढुङ्गामा भताभुङ्ग हुन पुग्यो यसबारे सरकार गम्भीर हुन जरुरी छ । साच्चै यात्रा गर्नुभन्दा अगाडि सवारी साधन ठिक हालतमा छ कि छैन सबै कुरा चेकजाँच गरेरमात्र पठाउने हेर्ने निकाय नभए सम्म यस्तो घटना फेरि पनि चलिरहने छ । अहिले बुढी मरि भन्ने चिन्ता भन्दा पनि काल पल्कियो भन्ने कुरा प्रमुख हो । जबसम्म हामीले यसलाई रोक्न सक्दैनौं तबसम्म दुर्घटना बारे चिन्ता गरेर केही हुनेवाला छैन ।
अहिले बस दुर्घटनामा घाइते भएका यात्रुको औषधी उपचार गर्न पनि लाखौं रूपैयाँ खर्च हुन्छ । त्यो खर्च यातायात कम्पनी र बस धनीले नै गर्नुपर्ने ब्यबस्थाछ यो सबै हिसाबकिताब हेर्ने हो भने । थोत्रो बस चलाएर केही पैसा कमाउने धन्दा कै कारणले एकातिर धनजनको क्षति अर्काेतिर लाखौंको खर्च यो कुरालाई पनि मनन गर्न सकेको खण्डमा अहिले जस्तो दुखद घटनामा कमि आउने छ ।
प्रसंग २
जिल्ला ट्राफिक कार्यालय बागलुङले सवारी साधन चलाउने चालकलाई ध्यानमा राखेर स्वास्थ्य परिक्षण कार्यक्रम शुरूवात गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मालढुङ्गा नजिकै मध्यपहाडी लोकमार्गमा सवारी साधन चलाउने सवारी चालकको स्वास्थ अबस्था के कस्तो छ । लामो दुरीको यात्रा गर्नको लागि स्वास्थ अनुकूल छ कि छैन ? भनेर शिविर शुरूवात गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दीपक रेग्मीको भनाइ सान्दर्भिक देखिन्छ ।
साच्चै भन्ने हो भने ट्राफिक प्रहरीले शुरूवात गरेको यो अभियानलाई सकारात्मक रूपमा लिन जरुरी छ । लामो दुरीमा सवारीसाधन चलाउने चालकको उमेर स्वास्थ अबस्था सबै चुस्त दुरुस्त हुन आबश्यक छ । साच्चै बर्षाै देखि सवारीसाधन चलाउदै आएका चालक मध्य दुई जनाको मोतीया बिन्दु भएको भेटियो यो स्वास्थ परिक्षण कार्यक्रम कै सफलता हो ।
धौलागिरि अ ञ्चल अस्पताल बागलुङका डाक्टर सन्जु पौडेलको नेतृत्वमा स्वास्थ परिक्षण गरियो । यो अभियानलाई निरन्तरता दिन जरुरी छ । अहिले भइरहेको सवारी दुर्घटनालाई समेत मध्यनजर गरेर स्वास्थ जाँच शुरूवात गरेको डाक्टरको भनाइलाई समय सान्दर्भिक मान्नुपर्छ । साच्चै यो अभियान राम्रो अभियान हो यसलाई बागलुङमा मात्रै नभएर देशैभर चलाउनु उपयुुक्त हुनेछ । ट्राफिक प्रहरी भन्नासाथ सवारीसाधन चलाउने चालकको मनस्थिति खाली सडकमा सवारीसाधन रोक्ने यो वा त्यो बहानामा पैसा झार्ने हो भन्ने जुन गलत धारणा थियोे यसले त्यसको समेत अन्त्य गरेर नयाँ कामको शुरूवात गरेको छ । जुन आफैमा सकारात्मक छ । मापासे चेकजाँच गर्दा सवारीसाधन चलाउने चालक दुर्घटनाको शिकार हुनबाट बचिरहेका छन् । हामीले सकारात्मक कामको समर्थन नकारात्मक कामको बिरोध गर्न सक्यौं भने परिवर्तन गर्न समय लाग्दैन ।
प्रसंग ३
संचार क्षेत्रमा बिद्यमान ऐन कानुन र नियम सम्बन्धि एकदिने पत्रकार अन्तरक्रिया कार्यक्रम संचार माध्यममा काम गर्ने पत्रकार नियुक्ति पत्र लिएर मात्रै काम गर्नुपर्ने कुरा आएको छ । यो एकदमै सान्दर्भिक कुरा हो यसलाई सयमा सय सत्यता छ एक प्रतिशत पनि झुठ छैन । साच्चै यस्तो कुरा सुन्दा जति आनन्द आउछ साच्चै ब्यबहारिक रूपमा भने काम कुरा फरक–फरक नै छ । साच्चै सबैभन्दा बढी चेतनशील मान्छे हो । त्यसमाथि पनि संचार क्षेत्रमा काम गर्ने मान्छे अझै बढी चलाख र चनाखो हुनुपर्छ त्यो कुरामा कुनै शंका छैन ।
अहिले नियुक्ती पत्र पाउने मात्रै ठुलो कुरा भएन साच्चै नियुक्ति पत्रमा लेखे अनुसार पारिश्रमिक दिन सक्छ कि सक्दैन भन्ने कुरा नै प्रमुख कुरा हो । नेपालमा खुलेका केही ठुलो मिडियाले समेत अहिले सरकारले तोकेको पारिश्रमिक दिन सकेको छ कि छैन भन्ने कुरासमेत यहाँ चर्चा गर्न आवश्यक देखिन्छ ।
अहिले गाउँदेखि राजधानी सम्म हजारौं मिडिया संचालनमा छन् । धेरै जसो मिडिया जनतन चलाउन कै लागि चलाउने पनि गरिएको छ । साच्चै त्यस्तो मिडियाले कसरी पारिश्रमिक दिन सक्छ नियुक्ति पत्र दिने ठूलो कुरा भएन त्यो त लेखेर दिइहाल्छ तर मिडियामा काम गर्ने पत्रकारलाई चाहिने पारिश्रमिक हो त्यो दिन सक्ने अबस्था अहिले पनि देखिदैन ।
साच्चै मिडिया सबैले खोज्छन् तर मिडियालाई यहाँ हामी सबैले बचाउनुपर्छ । मिडियामा काम गर्ने कलमजीबि पत्रकारलाई टिकाउनु पर्छ भन्ने भावनाको बिकास भने अहिलेसम्म भएको देखिदैन । जबसम्म हामीले पत्रकारलाई टिकाउन सक्दैनौं तबसम्म नत यहाँ कुनै मिडिया राम्रोसँग चल्न सक्छ नत टिक्न सक्छ । अहिले सबैभन्दा प्रमुख समस्या नियुक्ति पत्र हैन काम गर्ने पत्रकारले भनेको समयमा पारिश्रमिक पाउने कुरा नै प्रमुख हो । जबसम्म यो कुरा ब्यबहारिक रूपमा लागू गराउन सकिदैन तबसम्म फुस्रो नाराले केही हुनेवाला छैन ।
२०७५ माघ ६ गते प्रकाशित










