
ईश्वर गौतम
हाल बागलुङ जिल्लाको काठेखोला गाउपालिकामा पर्ने साबिकको भीमापोखरा गाबिस आफैंमा एउटा ऐतिहासिक नामबाट नै भीमापोखरा नाम रहेको पाइन्छ । तत्कालीन बाइसे, चौबिसे राजाको शासनका पाला भिमा नाम गरेकी रानीले पोखरी बनाएको र त्यहि भिमारानीले बनाएको पोखरीबाट भिमापोखरी भन्दाभन्दै अपभ्रम्शभै भीमापोखरा रहन गएको पाइन्छ ।
बागलुङ सदरमुकामबाट करिब १५ कि.मि मात्रा टाढा रहेको र ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावना बोकेको भीमापोखरा गाउँ केही ब्यक्तिको स्वार्थ र राजनीतिक दलका स्थानीय नेताकार्यकर्ताको आपसी द्वन्द्व, झगडा र मनमुटाबले गर्दा त्यति सुगमभने छैन दुर्गम नै छ । मध्यपहाडी लोकमार्गले छोएको र थुप्रै प्राकृतिक, धार्मिक, ऐतिहासिक, महत्व बोकेको यस गाउँमा रहेका केही सम्भावनाहरु निम्न रहेका छन् ः

ऐतिहासिक भिमादरवार
मध्यपहाडी लोकमार्गको अछेते बजार देखि करिब ८ कि.मि कच्ची सडकको यात्रा वा करिब ४० मिनेटको पैदलयात्राबाट पुग्न सकिने भीमादरबार भीमापोखराको केन्द्र भाग मुल्ठाना कोट मन्दिर, वडा कार्यलय र भीमादरबार प्राबिको परिसरमा भग्नावशेस अबस्थामा जिर्ण बन्दै गैरहेको छ ।
बागलुङ र छिमेकी जिल्लामा रहेका अन्ययस्तै बाइसे चौबिसे राजाले राज्य गरेका दरवारको नाम चर्चामा रहेपनि यस दरबारले भने प्रचारप्रसार, संरक्षणको अभाव र स्थानीय नेता कार्यकर्ताको बेवास्ताले जिर्ण बन्दै गएको छ । गाउँको केन्द्र भागमा रहेको र काठेखोला गाउँपालिकाका सवै वडाहरु, वरीपरीका हरियाली बन जङगल, अग्ला पहाड, धुरीहरु देख्न सकिने उक्त दरवार उच्च ठाउँमा काडेतारल बारिएको बिचमा पर्खाल र दरवारको नमुना रहेको उक्त दरवार प्रेमीप्रेमिकाको सङगम स्थल र राजनैतिक दलको कार्यक्रम र बैठक बस्ने थलोभएको छ । दरवारलाई संरक्षण गर्ने तत्कालीन राजाका शालिक निर्माण गर्ने, पुरानो दरवारको नमुना खोज गरेर निर्माण गर्न, उद्यान र बगैचा बनाउने र ऐतिहासिक बस्तुहरु मूर्तिहरुलाई संग्राहलयका रुपमा निर्माण गर्न र ऐतिहासिक भिमापोखरीको नमुना बनाउन, सकियो भने ऐतिहासिक झल्काउन र थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरि आर्थिक बिकास गर्न सकिन्छ ।
महारानी थान
ऐतिहासिक भीमादरवारबाट केही मिटरको दुरिमा नजिकै रहेको महारानी देविको मन्दिर पनि ब्यबस्थापन, संरक्षण, प्रचारप्रचारको अभाव, कच्ची सडक र २४ सै घण्टा चल्ने यातायातको अभाबले खासै महत्व पाएको छैन । श्रावण, पुस महिना बाहेक अन्य समय हरेक हप्ताको मंगलबार र शनिबार पुजा हुने उक्त मन्दिरमा भीमापोखरा, धम्जा, तंग्राम, बिहँु, पाला, बागलुङ नगरपालिकाका विभिन्न ठाउँ, म्याग्दीका केही गाउँबाट पुजाआजा गर्न मन्दिर आउने गर्दछ्न । महारानी थानमा पुजाँ गर्दा वा परेवा, खसीबोकाको बलि दिनाले आटेको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको पाइन्छ । एकादशी र द्याली पक्षमा भने बलि चढाउन बर्जित रहेको छ ।
उक्त स्थानबाट ढुंगा लगेर म्याग्दीको महारानी थानमा पुजा सुरुवात गरिएको भन्ने किम्बद्धन्ती रहेको छ । भीमापोखरामा प्रचार प्रसारको कारणले ओझेलमा परेपनि म्याग्दीको महारानी थानमा भने भक्ताजनहरुको भिड् लाग्ने गर्दा छ । महारानी थानसम्म पुग्नको लागि पक्की सडक र मन्दिर पुग्ने पदमार्ग निर्माण, व्यवस्थापन र प्रचार प्रसार गर्न सके धार्मिक पर्यटकीय स्थलको रुपमा विसक ागर्न सयौं भक्तजनको भिड् लाग्ने र आर्थिक विकासमा सहयोग पुग्ने अनुमान गर्न सकिन्छ ।
थाप्लेको धुरी (स्वर्गकोट)
समुन्द्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको भीमपोखराको शिरमा अबस्थित थाप्ले धुरी बागलुङका अग्ला धुरी मध्य बुढापाकाका अनुसार दोस्रा र अहिले प्रचार प्रसारको अभावले तेस्रो मागनिएको छ ।
म्याग्दी जिल्लाका सबै ठाउँ, पर्बत, कास्की, स्याङ्जा, लम्जुङ लगायतका जिल्ला र धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत आधा दर्जन हिमश्रृंखला र प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सकिने यो धुरी पर्यटकिय हिसाबले महत्वपूर्ण छ । धुरीको आपसमा रहेका सन्सारकोट, माझकोट, रायरायकोट, कारिकोटसँगै पाँचकोटको बिकास भै पञ्चकोट धाम धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास भएपनि पर्यटकिय सम्भावना र महत्व बोकेको यो धुरी भौतिक संरचना निर्माण र प्रचारप्रसार अभावले गर्दा खासै महत्व पाएको छैन ।
भौतिक संरचना निर्माण गर्ने, गुहेली चौरसम्म सडक सञ्जालले जोड्ने त्यहाबाट रेलिङ सहितको पदमार्ग निर्माण गर्ने, गुहेली चौरमा पिकनिक स्पोर्ट्स, बिभिन्न उद्धान, मनोरञ्जनात्मक खेलकुद, आकर्षक भौतिक संरचनाको निर्माण, तहिको पानीको ब्यस्थापन, गर्न सके पर्यटकियस्थल निर्माण हुनुका साथै कयौ पर्यटक भित्रिने रोजगारका सम्भावना खुल्ने र आर्थिक बिकास हुने सम्भावना देखिन्छ ।
गुनगुनेको धुरी (शिवधुरी)
थाप्लेको धुरी सँगै केही मिटरको दुरि र करिब १५० मिटर कम उचाइमा अवस्थित गुनगुनेको धुरी पनि धार्मिक पर्यटकिय महत्व बोकेको ठाउँ हो । हरेक बर्ष जेठ महिनामा उक्त ठाउँमा भगवान शिवको पुजा आरधना भजन कृतन रुद्राभिषेक र लक्ष्मि नारायणको पुजा गर्ने चलन परापुर्वदेखि नै चल्दै आएको छ ।
उक्त धुरिमा पुजा गर्नाले बेलैमा बर्साद हुने, बालिनालिमा हानी नपर्ने र अनिष्ट नहुने धार्मिक बिश्वास रहेको पाइन्छ । भने कहिकतै बुढापाकाहरुबाट ऋषि महर्षिहरुले तपस्या गरेको भन्ने पनि सुन्न पाइन्छ । म्याग्दी जिल्ला बेनि बजार, पर्वत, कास्की लगायतका जिल्ला र धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत आधा दर्जन हिश्रंखलाको मनोरम दृश्य अवलोकन गर्नसकिन्छ । साथै माओवादी जनयुद्धकालमा बसोबास गरेका टहराहरु समेत वरिपरि देखिन्छन्भने सतुवा, गुजरगानो, शिलाजित लगायत स्वास्थ बर्धक र बहुमुल्य जटिबुटी समेत पाउन सकिन्छ । यस क्षेत्रलाई पनि सडक सञ्जालले जोड्ने मन्दिर निर्माण गर्ने भ्यू प्वाइन्ट निर्माण गर्न सके धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्न र आर्थिक लाभ लिन सकिन्छ ।
दारेगौडाको धुरी (कान्छो धौलागिरी)
सामुन्द्र सतहदेखी करिब २ हजार ७ सय मिटरको उचाइमा अवस्थित दारेगौडाको धुरी (कान्छो धौलागिरी) पनि एउटा महत्वपूर्ण पर्यटकिय संभावना बोकेको ठाउँ हो । भिमपोखराको डोहेरीसम्म सडक र त्यसपछि करिब २० मिनेटको पैदल यात्राबाट उक्त ठाउँ पुग्न सकिन्छ । धौलागिरी, ,अन्नपूर्ण लगायत एक दर्जन भन्दा बढी हिमश्रृंखला मनोरम दृश्य र बागलुङ, म्याग्दी, पर्वत ,स्याङ्जा, कास्की, लमजुङ लगायतका जिल्लाका अग्ला पहाड र प्राकृतिक मनोरम दृश्यको आनन्दले स्वर्गजस्तो अनुभुती हुन्छ । त्यसैले नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य सगरमाथा आरोही कृष्ण के.सी.ले कान्छो धौलागिरीको उपनाम दिनुभएको छ । यस ठाउँको बिकासका लागि अहिले भीमापोखरा हुँदै म्याग्दी तातोपानी कुण्ड जाने सडकमा परेको बजेटको दुरुपयोग हुन नदिइ सडक बिस्तार गर्ने र पक्की सडक निर्माण गर्न छिटो पहल गर्ने, केही आकर्षक भौतिक पुर्वधार निर्माण, पिकनिक स्पोर्ट्सको संचालन, डोहेरिमा होमस्टे, उद्यान पार्कको निर्माण, डोहेरिदेखि पदमार्ग ्निर्माण गर्न सकेकयौं भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न आर्थिक लाभ लिन सकिन्छ ।
यी बाहेक अरु थुप्रै सम्भावनाहरुको खोजी गर्दै यी स्थलको बिकासका लागि सर्वप्रथम भिमापोखरा हुँदै म्याग्दी तातोपानी जाने सडकलाई बिस्तार गर्ने र छिटो पक्की सडक निर्माणमा पहल गर्ने बाग्लुङ प्रदेशसभा अन्तर्गत पर्ने रिङ्गरोडको बिकास र बिस्तार गरि पक्की सडकको रूपमा छिटो बिकास गर्न आवश्यक देखिन्छ । यसरी सडक बिस्तार पछि बागलुङका पश्चिमी भेग गुल्मी, पाल्पा लगायतका ठाउँबाट म्याग्दी तातोपानी र मुस्ताङ सम्म पुग्न यो सडक छोटो पर्ने र उक्त सडक संचालनमा ल्याउन सके भिमापोखराको ऐतिहासिक धार्मिक पर्यटनको बिकास र प्रचारप्रसार मा मद्दत पुग्छ । यस ठाउको पहिचान राष्ट्रब्यापी रुपमा पु¥याउन सहयोग पुग्छ । र अर्को सम्भावना रिङ्गरोडको छिटो बिस्तार गर्न सकियो र यी स्थलको प्रचारप्रसार गर्ने सकियो भने पञ्चकोटमा आउने पर्यटकलाइ यहाँ सम्म आउने ब्यस्थापन र उक्त बाटोहुँदै म्याग्दी तातोपानी, मुस्ताङ पुग्ने वातावरण पनि संभावना रहन्छ । यसरी पनि यस ठाउको बिकासमा टेवा पुर्याउछ र हजारौं पर्यटक भित्र्याउन सकिन्छ ।
यस्तै अर्को सम्भावना भिमापोखरा चिप्लेभिरमा रहेको चिप्ले पहरोलाई कृत्रिम झरना बनाउने संभावना बारे खोज अनुसन्धान गर्न सकिन्छ । यसरी सम्भव भए झरनाको रुपमा पनि बिकास हुने र फाँटमा सिचाइ पनि ब्यबस्थापन हुनसक्छ त्यसको लागि माथिबाटै खहरे खोलाको पानी ल्याउन सम्भावनाको खोजी र अध्ययन गर्नुपर्ने हुन्छ । भीमापोखराको विकासको लागि गाउँमा विभिन्न ठाउँमा होमस्टे सञ्चालन गर्ने, मुल्ठानाहुँदै जलजला पतिस्वारा सडक छिटो बिस्तार गर्ने, पिकनिक स्पोर्ट्सका रुपमा बिकास गर्ने र यसरी अन्य ठाउँको समेत खोजी गर्दै प्रचारप्रसार गर्न सके भिमापोखरालाई ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिन्छ र गाउँको बिकासले फड्को मार्न धेरै समय नलाग्ने अनुमान गर्न सकिन्छ ।
२०७५ माघ ६ गते प्रकाशित










