
बागलुङ, ३ माघ ।
प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि इन्फोम्याक्स पोखराले जितेको छ ।
बागलुङको जैमिनी नगरपालिका–१ को सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवमा संचालन गरिएको प्रतियोगिता अन्तरगत बिहीबार भएको फाइनल खेलमा इन्फोम्याक्स पोखराले बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा इन्फोम्याक्स र सिगानाले क्रमशः २५–२२, १७–२५, २५–२१, १८–२५ हुँदै २–२ जित हातपारेपनि अन्तिम सेटमा इन्फोम्याक्स पोखराले बा.न.पा.–८ सिगानालाई १५–१२ ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।

प्रतियोगिताको विजेता इन्फोम्याक्स पोखराले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्योभने उपविजेतामा चित्त बुझाएको बा.न.पा.–८ सिगानाले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
बिहीबार नै भएको सेमिफाइनल खेलमा बानपा–८ सिगानाले छिस्तीलाई ३–१ को सोझो सेटमा र इन्फोम्याक्स पोखराले विहानी कन्ट्रक्सनलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । शुक्रबारदेखि सुरु भएको प्रथम जैमिनी महोत्सव आज सम्पन्न भएको छ ।










