बागलुङ नगरपालिकामा आपत्कालिन आश्रयस्थल निर्माण

बागलुङ, २९ पुस
बागलुङ नगरपालिका वडा नम्वर ३ सिम्लेमा निर्माण गरिएको आपत्कालिन आश्रयस्थल आईतबार बागलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण गरेको उक्त भवन आईतबार डिभिजन कार्यालयका प्रमुख डिभिजन ईन्जिनियर सचिन्द्र कुमार देवले नगरपालिकाका नगरप्रमुख जनकराज पौडेललाई चावी हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्राकृतिक विपतको बेलामा आकस्मीक रुपमा गाँस, बाँस र कपासको अभाव भएका नगरबासिहरुलाई अब उक्त समस्या आईनपर्ने बताउनुभयो । उहाँले प्राकृतिक विपतको बेलामा नगरपालिकाले आपतकालिन आश्रयस्थलमा राख्न सक्ने बताउनुभयो ।
कार्यक्रममा शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख देवले नेपाल सरकारको कार्यक्रम अन्तरगत भवन डिभिजन कार्यालयले ६१ लाख ५७ हजार ६ सय ६ रुपैयाँमा निर्माण गरिएको जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष लक्ष्मी बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत वडासदस्य कमल खड्का र संचालन वडाका खरदार हरिप्रसाद सिलवालले गर्नुभएको थियो ।