
बागलुङ, १३ मंसिर
बागलुङ क्षेत्र नम्बर एकका संघीय सांसद सूर्य पाठक जनताको घरदैलोमा पुग्न थालेका छन् । एक वर्ष अगाडिको निर्वाचनबाट विजयी सांसद पाठकले जनताका सुझाव लिने उद्देश्यले घरदैलो अभियानमा निस्कनुभएको हो । केही दिन अगाडिदेखि जनताका घरघरमा पुग्ने अभियान सुरु गर्नुभएका सांसद पाठकले बुधबार बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटाका विभिन्न ठाउँमा पुगी जनताका सुझाव लिनुभएको थियो ।
आफूले सांसद निर्वाचित भएको एक वर्षको अवधीमा गरेका कामका बारेमा जनतालाई जानकारी गराउँनुका साथै जनताका अपेक्षाहरु संकलन गरेको पाठकले बताउनुभयो । जनताका धेरै अपेक्षाहरु रहेका छन् । जनताको भेटमा सांसद पाठकले वर्तमान सरकार समृद्ध मुलुकको परिकल्पना सहित अगाडि बढेकाले जनताको इच्छा अनुसार काम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आफूले पाँच वर्षमा के–के गर्ने भन्ने बारेमा निर्वाचन अगाडिनै घोषणापत्र मार्फत जनताको घरघरमा पुगेको भन्दै सांसद पाठकले घोषणापत्र र जनतालाई दिइएका आश्वासन पुरा गर्न आफू प्रतिबद्ध भएको बताउनुभयो । प्राय जनताको माग पूर्वाधार निर्माणमा केन्द्रित भएको भन्दै पाठकले पुर्वाधार निर्माणसँगै अन्य विकासका काममा समेत ध्यान दिन जनतालाई आग्रह गरेको पाठकले बताउनुभयो ।
लामो राजनीतिक संक्रमण व्यहोरेको संरचना सुधारका लागि केही समय लाग्ने भन्दै सांसद पाठकले सरकारले केही गरेन भनेर विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । मनमोहन अधिकारी नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा ठूलो विरोध खेप्नु परेको भन्दै सांसद पाठकले अहिलेको सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको विरोध गर्नु विरोधी मानसिकता मात्र भएको बताउनुभयो ।
जनभेटघाट कार्यक्रममा निर्वाचनका बेला ठूला ठूला आश्वासन प्रदान गर्ने नेताहरुले जितेपछि गाउँनै टेक्दैनन भन्ने आम मानिसको आरोपलाई चिर्नका लागि आफू आफ्नो निर्वाचन क्षेत्रमा हरेक पटक पुग्ने गरेको भन्दै सांसद पाठकले जनताका राय सुझाव अनुसारनै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।










