
बागलुङ, १३ मंसिर ।
बागलुङ उद्योग बाणिज्य संघको महाधिवेशन नजिकिदै गर्दा व्यवसायीहरुमा चुनावी सरगर्मी बढेको छ ।
यहि मंसिर २१ र २२ गते हुने ५५ औं साधारणसभा तथा १७ औं महाधिवेशनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुको साथसाथै मतदाताहरुको विवादले बजार तातेको थियो । अन्तत मतदाताहरुको विवाद अन्त्य भएको छ ।
उद्योग वाणिज्य संघको सदस्यहरुको १ वर्षपछि बल्ल मतदात गर्न पाउने प्रबधान रहेकामा उद्योग वाणिज्य संघले गत वर्षको मंसिर महिनाभरी सदस्यहरु दर्ता गरेको र पुस र माघमा उनीहरुको पुनः नविकरण गरेकाले सदस्यहरुले आफुहरुले मतदात गर्न पाउनुपर्ने अडान राख्दै जिल्ला प्रशासनमा उद्योग वाणिज्य संघ विरुद्ध उजुरी गरेपछि मंसिरको जाडोमा पनि बजार तातेको थियो ।
उद्योग वाणिज्य संघको बैठकले मंसिर महिनाको २१ गतेसम्म दर्ता गरेका व्यवसायीहरुलाई मतदानको लागि अधिकार दिने र त्यसपछिका ६१ जना व्यवसायीलाई मतदान गर्न नपाउने निर्णय गरेको थियो ।
उक्त निर्णय गर्ने बैठकको बेलामा उद्योग वाणिज्य संघका सदस्यहरु विच मतविभाजन भएपछि बहुमतको आधारमा उद्योग वाणिज्य संघले निर्णय गरेको थियो । उक्त बैठकमा महासचिव दयाराम शर्मा, कोषाध्यक्ष अर्जुन चोखाल लगायतले मंसिर महिनाभरी दर्ता भएका व्यवसायीहरुलाई मतदानमा अनुमति दिनुपर्ने बताएपनि अध्यक्ष जयराम राजभण्डारी, वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी लगायतले विधान अनुसार नहुने भन्दै दिन नमिल्ने बताएका थिए ।
उक्त निर्णय मान्य नहुने भन्दै व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी गरेपछि बजारमा के होला भन्ने बारेमा मत विभाजन सहित बजार गरमराएको थियो ।
उजुरीको आधारमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको नेतृत्वमा बुधबार बसेको उद्योग वाणिज्य संघ र उजुरीकर्ता व्यवसायीहरुको निर्णयले केहि निक्यौल निकाल्न नसकेपनि प्रजिअले संघलाई मतदाताहरुलाई मतदानबाट किन बन्चित गराएको हो र किन मतदात गर्न नपाउने भन्ने बारेमा लिखित स्पष्टिकरण सोध्दै आपसी मेलमिलापको लागि अनुरोध गरेका थिए ।
संघको बिहीबारको बैठकले मंसिर महिनाभरीमा दर्ता भएका उद्योगी व्यवसायीहरुलाई मतदानको लागि इजाजत प्रदान गरेको महासचिव दयाराम पौडेलले जानकारी दिनुभयो । उक्त निर्णयसँगै ५७ जना मतदाता पुन थपिएका छन् ।
उद्योग वाणिज्य संघले मंसिर महिनाभरी दर्ता भएका व्यवसायीहरुलाई मतदानको अधिकार प्रदान गरेपछि अब निर्वाचनमा एक हजार २ सय २२ जना व्यवसायीहरुले मतदान गर्ने भएका छन् । बाँकी ४ जना व्यवसायीहरु माघ महिनामा दर्ता भएकाले उनीहरुभने मतदानबाट बन्चित भएका छन् ।
उद्योग वाणिज्य संघले भोली (१४ गते) उम्मेदवारी दर्ताको समय तोकेको छ । यस पटक पनि उद्योग बाणिज्य संघमा २ प्यानलविच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । हालसम्म उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेल र वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले अध्यक्षमा आफ्नो उम्मेदवारी दिने बताएका छन् । उनीहरुले अहिले आ–आफ्नो प्यानल निर्माणको लागि र मतदाता फकाउनको लागि व्यवसायीहरुको घरघरमा विभिन्न बाहाना बनाउँदै गईरहेका छन् ।










