
राम सुवेदी
बागलुङ, ९ मंसिर
ढोरपाटन नगरपालिकाको वडा नं. ८ ढोरपाटनमा आगलागिबाट पिडित ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन ४८ लाख दिनेभएको छ । आगलागि भएको खबर पाएसँगै तत्काल पोखराबाट हेलि मगाई बुर्तिबाङ हुँदै ढोरपाटन पुगेको नगर प्रमुख देव कुमार नेपाली सहितको टोलीले घटना स्थलको प्रत्यक्ष अवलोकन गरि पिडितहरुलाई घर बनाइदिने प्रतिवद्धता जनाएको हो ।
ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली, उपप्रमुख कर्मती पुन, प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, हनुमान ध्वज गुल्म ढोरपाटनका गुल्मपति मेजर रविजंग खड्का वडा नं. ९ का वडा अध्यक्ष हरी बहादुर घर्ति, वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार, प्रहरी चौकी बोबाङका ईञ्चार्ज कृष्णबहादुर चुडाली तथा स्थानीय पिडित सहितको एक टोलीले आजै घटना स्थलको प्रत्यक्ष अवलोकन गरेको हो ।
घटना स्थलको अनुगमन निरीक्षण तथा पिडितहरुको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत व्यवस्थापन कोषबाट त्यहाँका आगलागि पिडितहरुको घर निर्माण गर्न भन्दै प्रति परिवार १ लाखका दरले ४८ लाख नगरपालिकाबाट उपलब्ध गराउने र घरको छाना छाउने राम्रो खालको जस्तापाता आफ्नो व्यक्तिगत सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । नगर प्रमुखको उक्त प्रतिवद्धता पछि त्यहाँका आगलागी पिडितहरु खुसी भएका छन् । नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट ईञ्जिनियर पठाएर सबैको एकैखालको भुकम्प प्रतिरोधी एक/एक तले, दुई कोठे शौचालय सहितको एकै प्रकारको घर निर्माण गर्ने बताउनुभयो ।
स्थानीय ढुँगा माटोबाट व्यवस्थीत घर निर्माण गरि एउटा भान्सा कोठा र एउटा सुत्ने कोठा घर बाहिर अनिवार्य शौचालय सहितका ४८ वटा घर निर्माणका लागि नगरपालिकाले तत्काल पहल गर्ने त्यस अवसरमा नगर प्रमुखले बोल्नुभएको छ ।
आगलागि भएको स्थान नगरपालिकाको वडा नं. ९ भए तापति त्यहाँ वडा नं. ८ र ९ का जनताको मिश्रित बसोवार गर्ने भएकाले दुई वटै वडाका वडा अध्यक्षहरुको अगुवाईमा त्यहाँ नयाँ वस्ति निर्माणको जिम्मेवारी लिन नगर प्रमुखले वडा अध्यक्षहरुलाई निर्देशन समेत गर्नुभयो ।
आगलागि स्थल ढोरपाटनमा रहेको हनुमानध्वज गुल्मले आगलागि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाका तर्फबाट विषेश आभार तथा धन्यवाद बोल्दै नगर प्रमुख नेपालीले आगामी दिनमा स्थानीय जनताका समस्या, अफ्ठेराहरुमा यसरी नै साथ दिन नेपाली सेनाको गुल्मलाई आग्रह गर्नुभयो । स्थानीय जनतालाई समेत आफ्ना अफ्ठेराहरुमा राज्यको कर्तव्यनिष्ट नेपाली सेनाबाट भरपुर सेवा दिन समेत अनुरोध गर्नुभएको छ ।
आगलागिको खबर पाएपछि नगर प्रमुखको टिम हेलिबाट घटना स्थल पुगेको थियो ।










