तुरतुरे ताललाई संरक्षण गर्ने की

लेखक राजेशचन्द्र राजभण्डारी

राजेशचन्द्र राजभण्डारी
हिजो बाढी पहिरोबाट त्रसित बागलुङ जिल्लाका ढोरपाटन नगरपालिका र बडिगाड गाउँ पालिका बासिन्दा अहिले भने तुरतुरे तालको चर्चा परिचर्चा हुन थालेपछि खुशी हुन थालेका छन् ।
कतिपय प्रकृतिको बिनाश पनि मान्छेको लागि बर्दान साबित हँुदो रहेछ भन्ने एउटा राम्रो उदाहरण तुरतुरे ताल बनेको छ । हिजोका दिनसम्म स्थानीय बासिन्दालाई काल बनेको ताल भने यतिबेला पर्यटक तान्ने केन्द्र बन्दै जान थालेपछि भने हिजोको भय त्रासलाई यतिबेला बिस्तारै भुल्दै जान थालेका छन् ।
अहिले तुरतुरे तालमा डुङ्गा संचालन गर्न थालेपछि यतिबेला यहाँ आएर रमणीय बाताबरणमा आन्तरिक तथा बाह्य पर्यटक रमाउन थालेपछि स्थानीय तहले यसलाई संरक्षण गर्ने सोच गराएको छ । अहिले भएको ताललाई दिर्घकालिन रूपमा कसरी चलाउन सकिन्छ यसलाई कसरी ब्यबस्थित गर्न सकिन्छ भन्ने बारे सरोकारवालाले नीति बनाउन जरुरी देखिन्छ ।
साच्चै भन्ने हो भने यतिबेला बागलुङको मध्यपहाडी लोकमार्गमा पर्ने यो तुरतुरे ताल यो क्षेत्रको पर्यटन प्रर्बदनको लागि बरदान साबित भएको मान्नुपर्छ । प्रकृतिले बिनाश मात्रै गर्दैन यसले नयाँ बिकास पनि गर्छ । यसलाई हामीले उपयोग मात्रै गर्न सक्नुपर्छ । अहिले गाउँ गाउँमा सिंहदरबार पुगिसकेको छ । जनताका जनप्रतिनिधि अहिले गाउँ गाउँमा बिकास निर्माणका लागि तल्लीन भएको देखिन्छन् ।
जतिसुकै ठूलो कुरा गरेपनि जबसम्म हामीले यहाँ आन्तरिक तथा बाह्य पर्यटक तान्न पर्यटक लोभ्याउने गन्तव्य बनाउन सक्दैनौं तबसम्म हामी कहाँ नत आन्तरिक पर्यटक आउछन् नत बाह्य पर्यटक नै । अहिले नेपालको एकमात्र सिकार आरक्ष केन्द्र ढोरपाटन शिकार आरक्ष केन्द्र पनि यहीँ गन्तव्य भएर जानुपर्ने भएको हुदा यो तुरतुरे ताल सबै खालको पर्यटनको केन्द्र बन्ने निश्चित छ । अहिले यस ताल वरिपरि घर गोठ डुबानमा परेका स्थानीयलाई अर्को राम्रो ठाउँमा स्थानान्तरण गराएर यस ठाउँलाई पर्यटनको केन्द्र तुरतुरे ताल बनाउन जरुरी देखिन्छ ।
अहिले स्थानीय निकाय भनेको गाउँ–गाउँमा सिंहदरबार हो जनप्रतिनिधिले यसमा ध्यान पु¥याउन सकेको खण्डमा बागलुङ ढोरपाटन नगरपालिका र बडिगाड गाउँ पालिका निकै राम्रो पर्यटनको केन्द्र बन्न सक्ने कुरा निश्चित छ । साच्चै भन्ने हो भने प्रकृतिले ठुलो बिनास पछि राम्रो सुन्दर तुरतुरे ताल हामीलाई उपहारस्वरूप दिएको छ यसलाई कसरी जोगाउने भन्ने बारे राम्रो अध्ययन अनुसन्धान गर्न जरुरी देखिन्छ ।
सरकारले सन् २०२० लाई पर्यटन बर्ष घोषणा गरेर २० लाख बिदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । यसलाई जसरी पनि सफल पार्ने काम हामी सबैको हो यसलाई अहिले देखि योजनाका साथ ब्यबस्थित गर्न सक्यौं भने हामीले बिदेशी पर्ययटको तान्नको लागि हाम्रो तुरतुरे ताल आकर्षक गन्तव्य बनाउन सकिन्छ । आज जसरी पोखराले आफुलाई ७ वटा तालको शहर भनेर जुन घमण्ड गर्ने अबसर पाएको पनि यहीँ तालकै कारणले हो भन्ने कुरा बुझ्न जरुरी छ ।
बिदेश तिर कृतिम ताल तलाउ बनाएर पर्यटक तानिरहेको छभने हामीसंग त प्राकृतिक ताल नै आफै बनेको हुँदा यसलाई मात्रै संरक्षण गर्न सके पुग्छ । यहीँबाट हजारौं हैन लाखौं आम्दानी हुन्छ सयौं जनाले यहीँ रोजगारी पाउने छन् । आज कामको लागि हाम्रो युवा जनशक्ति बिदेशीनु पर्ने छैन ।

२०७५ मंसिर ९ गते प्रकाशित