
अर्जुन कार्की
बागलुङ, २३ असोज
बागलुङको गल्कोटमा आजदेखि सुरु भएको २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ३ विभागीय टिमले विजयी सुरुवात गरेका छन् । पहिलो दिनको खेलमा विभागीय टिम एपिएफले दोहोरो जित दर्ता गर्योभने नेपाली सेना र नेपाल प्रहरीले पनि पहिलो जित हात पारेका छन् ।
विभागीय टिम एपिएफले उद्घाटन खेलमा प्रदेश नम्बर ७ लाई ३–० को सोझो सेटमा पराजित गरेको थियोभने आजको अन्तिम खेलमा प्रदेश नम्बर ६ लाई पनि ३–० कै सोझो सेटमै पराजित गरेको छ ।
उद्घाटन खेलमा एपिएफले प्रदेश नम्बर ७ लाई २५–१२, २५–१२ र २५–६ ले पराजित गर्यो यस्तै प्रदेश नम्बर ६ लाई २५–६, २५–९ र २५–५ ले पराजित गर्दै अघिल्लो चरणको यात्रालाई बलियो बनाएको छ ।
यस्तै आजै भएको समुह ‘वि’ तर्फको खेलमा नेपाल पुलिसले प्रदेश नम्बर ५ लाई ३–० को सोझो सेटमै पराजित गरेको छ । नेपाल पुलिसले प्रदेश ५ लाई २५–११, २५–१७ र २५–१३ ले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो ।
यस्तै आजको समुह ‘ए’ तर्फको खेलमा नेपाल आर्मीले पनि गण्डकी प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गरेको छ । निकै रोमाञ्चक भएको खेलमा गण्डकी प्रदेशलाई आर्मीले २३–२५, २६–२८ र २२–२५ ले पराजित गरेको थियो ।
प्रतियोगिताको उद्घाटन गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गर्नुभएको थियो ।
प्रतियोगिता अन्तरगत भोली (बुधबार) समुह ‘ए’ तर्फ प्रदेश ६ विरुद्ध गण्डकी प्रदेश, प्रदेश ७ विरुद्ध प्रदेश ६ र विभागीय टिम एपिएफ विरुद्ध नेपाली आर्मी विच हुनेछभने समुह ‘वि’ तर्फ प्रदेश ३ विरुद्ध प्रदेश २, प्रदेश २ विरुद्ध प्रदेश ५ र प्रदेश ३ विरुद्ध प्रदेश ५ विच प्रतिस्पर्धा हुनेछ ।
नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने बताइएको छ ।
प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।










