
अर्जुन कार्की
बागलुङ, २३ असोज ।
बागलुङका युवा फुटबल खेलाडी डिफेन्डर अविशेक बोहोरा र आशिष केसी शहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
बागलुङ ११ बाट खेल्दै आएका दुवै जना खेलाडीहरुले काठमाडौंमा भएको ललित स्मृति अन्डर १८ प्रतियोगितामा पनि सहभागिता जनाई सकेका थिए । डिफेन्डरको रुपमा खेल्डै आएका अविशेक गत वर्ष फ्रेण्डस क्लबबाट खेले पनि यस वर्ष थ्रीस्टारबाट खेलेका थिएभने आशिष गत वर्ष र यस वर्ष फ्रेण्डस क्लबबाटै ललित स्मृति अन्डर १८ प्रतियोगिता खेलेका थिए ।
दुवै खेलाडीलाई अन्डर १८ प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा क्लबहरुले सिनियर टिममा अनुबन्धीत गरेका हुन् ।
झण्डै चार वर्षपछि हुन लागेको ए डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेका दुवै खेलाडी बागलुङबाट ए डिभिजन लिग खेल्ने पहिलो खेलाडी बनेका छन् ।

पहिलो पटक ए डिभिजन क्लबमा अनुबन्धीत हुन पाएकोमा दुवै खेलाडीले खुसी भएको बताएका छन् । उनीहरुले राष्ट्रिय टिमका दाईहरुसँग क्लबमा सँगै अभ्यास गर्न पाउँदा खुसी लागेको बताउँदै उहाँहरुबाट धेरै कुरा सिक्ने अवसरको रुपमा लिएको खबरवे अनलाईनसँग कुरा गर्दै बताए । दुवै खेलाडीले लिगमा टिमबाट अवसर पाएमा आफुहरुले आफ्नो क्षमताको पुष्ठि गर्ने समेत बताएका छन् ।
आशिषले फ्रेण्डसको सिनियर टिमबाट यस अगाडी नै चन्द्रगिरी गोल्डकप फुटबलमा सहभागिता जनाईसकेका छन् भने अविशेषले थ्रीस्टारको सिनियर टिममा पहिलो पटक स्थान बनाएका हुन । दुवै खेलाडीले आफुलाई टिमले खेलमा अवसर दिएमा सदुपयोग गर्ने बताएका छन् ।
केसीले यस अगाडी नेपालको राष्ट्रिय अन्डर–१४ र अन्डर–१६ टिमबाट सहभागिता जनाई सकेका थिएभने बोहोराले अन्डर–१४ को राष्ट्रिय टिमबाट सहभागिता जनाईसकेका छन् ।










