भीमापोखरामा सार्वजनिक सुनवाई, आ.व. २०७४/०७५ मा ७१ योजना सम्पन्न

बागलुङ, १९ असोज ।
बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरामा आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न भएका योजना तथा कार्यक्रमको विषयमा शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ ।


सार्वजनिक सुनवाई कार्यक्रममा सहभागिहरुले उपभोक्ता समिति गठन, योजना छनोटलाई समावेशी र पारदर्शी बनाउन माग गरेका थिए । सहभागिहरुले वडा तथा गाउँपालिकाबाट हुने प्रक्रियागत कार्यलाई छिटोछरितो, चुस्तदुरुस्त बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सम्पूर्ण योजना तथा कार्यक्रमहरुलाई तोकिएको मितिभित्र सम्पन्न गरि फरफारक गर्न आग्रह गर्नुभएको थियो । उहाँले गाउँपालिका तथा वडाबाट हुने योजनामा कुनै पनि आर्थिक लाभ लिन खोजे तुरुन्तै कारवाही गरिने बताउनुभयो ।


सार्वजनिक सुनवाईमा सबाहलको जवाफ दिँदै वडाअध्यक्ष विद्यापति शर्माले वडा कार्यालयमा संचालित सम्पूर्ण आयोजनाहरु तोकिएको समय र पारदर्शी ढंगबाट सम्पन्न भएको बताउनुभयो । शर्माले कुनै पनि उपभोक्ता समिति गठन गर्दा सम्पूर्ण पक्षलाई समान सहभागिता र अवसर प्रदान गरेको भन्दै उहाँले विकास निर्माण र सेवा प्रवाहमा कसैसँग सम्झौता नगर्ने बताउनुभयो । कार्यक्रममा प्रकाशमान थापा, विदुर भण्डारी, कृष्ण पौडेल, नारायणदत्त रेग्मी र विष्णुकुमारी थापा लगायतले जिज्ञासा राख्नुभएको थियो ।


वडा कार्यालयले गतवर्ष मोटरबाटो विस्तार तथा मर्मत, जुठ्यल्नो निर्माण, भकारो सुधार, खानेपानी आयोजना, सिँचाई आयोजना लगायतका ७१ ओटा योजना सम्पन्न गरेको थियो । सार्वजनिक सुनवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले गर्नुभएको थियो ।