माटोको ढिस्कोले पुरिएर घाईते भएकी केसीलाई सहयोग

बागलुङ, १६ असोज
घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरियर गम्भीर घाईते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी निसा भण्डारी केसीको उपचारको लागी सहयोग हस्तान्त्रण गरिएको छ ।
कालिगण्डकी आवासिय माध्यमिक विद्यालयमा रहेको युवा रेडक्रश सर्कलको सक्रियतामा संकलित रकम हस्तान्त्रण गरिएको हो ।
सो अवसरमा संकलित २६ हजार ६५ रुपैया विद्यालयका प्रिन्सीपल निरञ्जनलाल राजभण्डारी र समाजसेवी कृष्णराज शर्माले केसीका जेठाजु टेकवहादुर केसीलाई हस्तान्त्रण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै समाजसेवी तथा हाम्रो धौलागिरी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्णराज शर्माले अरुको दुखमा सहयोग गर्नुनै मानविय कर्तव्य भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेको कारण केसीका श्रीमान वैदेशिक रोजगारीको शिलशिलमा कतारमा रहेका छन् । केसीको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । केसीका माइती तर्फका वुवा आमाको समेत स्वर्गारोहण भैसकेको र परिवार चरम गरिविको मारमा रहेकोले उपचारमा समस्या भएको छ ।
विद्यालयका प्रिन्सीपल निरञ्जनलाल राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाम्रो धौलागिरी वचत तथा ऋण सहकारी सस्थाका सचिव भुपाल चालिसे, पत्रकार महासंघका सहसचिव सुवास आचार्य, नेपाल रेडक्रश सोसाईटी मालिका उपशाखा सभापती रविप्रसाद शर्मा, सेवा निवृत शिक्षक चुडामणी आचार्य, लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नेपाल रेडक्रश सोसाईटी बागलुङका उपकोषाध्यक्ष जीवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।