
रबिना बोहरा
बागलुङ, ३ भाद्र ।
नजिकिदै गरेको हरितालिका तिजलाई मध्यनजर गर्दै बागलुङमा ३ दिने तिजी मेला सञ्चालन हुने भएको छ । रुद्रेपिपल युवा क्लब बागलुङको आयोजना तथा रुद्रेपिपल टोल विकास संस्था र कालिका आयआर्जन महिला समुहको संयोजनमा यहि भदौ २६ गतेदेखि २८ गतेसम्म सातौँ तिज मेलाको आयोजना गर्न लागिएको बताइएको छ ।
स्थानीय कला, संस्कृतिको संरक्षणका लागी एवं हरेक बर्ष गरिने कार्यक्रमलाई निरन्तरता दिनका लागी कार्यक्रमको सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । मेलाका अवसरमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, शान्ति दौड, स्लो बाईक रेस, छेलो, घैटोफोर, महिला लठो तान्ने लगायतका प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक राजकुमार बोसेलले जानकारी दिनुभयो । तिजलाई संरक्षण एवं सम्वद्धन गर्ने उद्देश्यले पनि महोत्सवको आयोजना गर्न लागीएको क्लबले जनाएको छ । मेला सञ्चालनका लागि ७ लाख ९५ हजार ९ सय ४३ रुपैँयाको लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ । विगत ६ बर्ष देखि सञ्चालन गर्दै आएको तिज महोत्सव यस बर्ष पनि भव्य रुपमा मनाउने बताइएको छ ।
महोत्सव सञ्चालनका लागी लाग्ने खर्च व्यवस्थापनका लागी वैदेशिक रोजगारमा गएका, विभिन्न संघ संस्था तथा क्लबबाट उठाउने कमल बोहोराले बताउनुभयो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारद्धारा मनोरञ्जन प्रदान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तिन दिने मेला अवलोकन गर्नका लागी ३० हजार भन्दा बढी स्थानीय तथा बाह्य पर्यटकको उपस्थित रहने अपेक्षा गरिएको छ । क्लबले मेलामा आर्थिक, नैतिक एवं सामाजिक सहयोगका लागी सम्पुर्ण बागलुङबासीलाई आग्रह गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, मेलाका आर्थिक संयोजक राजेन्द्र बोसेल, बागलुङ नगरपालिका–१ का वार्ड सदस्य अनिता केसी बोसेल, कार्यक्रम संयोजक राजकुमार बोसेल, आनन्द बोसेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम रुद्रेपिपल युवा क्लबका उपाध्यक्ष शकुन्तला बोसेलको अध्यक्षता र सहसचिव सन्दिप बोसेलको सञ्चालनमा सम्पन्न भएको थियो ।










