
बागलुङ, १ भदौं ।
बागलुङ बजारमा आज (शुक्रबार)देखि धौलागिरी अञ्चल स्तरिय भेट्रान फुटसल प्रतियोगिता–२०७५ सुरु भएको छ ।
रश आवर फुटसल प्रा.लि. बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन मालढुंगा युवा क्लब र कर्मचारी फुटसल टिम विजयी भएका छन् ।
उद्घाटन खेलमा मालढुंगा युवा क्लबले धौलागिरी जिप व्यवसायीक समिति बागलुङलाई १४–३ गोलअन्तरले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा कर्मचारी फुटसल टिमले मिलीजुली फुटसल टिमलाई ७–४ गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको उद्घाटन स्पेशल ओलम्पिक नेपालको तर्फवाट अमेरिकाको मिनी एपोलिसा शहरमा सुस्त मनस्थितिको तर्फबाट भाग लिएका खेलाडि अरुण शाक्य र बंगलादेश तथा भारतमा भएको प्रतियोगितामा सहभागी भई पुरस्कृट सुस्त मनस्थिति खेलाडि सुविल श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा धौलागिरी जिप व्यवसायि समितिका अध्यक्ष बिष्णु अधिकारी,नेपाल प्रेस युनियनका कार्यवहाक अध्यक्ष प्रदिप पन्तले आ आफनो भनाई राख्नुभएको थियो । रश आवर फुटसल प्रालिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता र राजु केसीको संचालमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । धौलागिरी अञ्चलका ९ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३० केजी खसी र उपविजेताले २० केजीको खसी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ३० वर्ष उमेर पुगेका खेलाडीहरुले सहभागिता जनाउन पाउने प्रावधान अनुसार सोही अनुसारका खेलाडीहरु सहभागि रहेका छन् ।
प्रतियोगिता अन्तरगत शनिबार पहिलो खेल रस आवर फुटसल प्रा.लि. विरुद्ध डाउन्ने ग्रिल उद्योग, दोस्रो खेल मानवसेवा आश्रम विरुद्ध बेनी फुटसल टिम र तेस्रो खेलमा कर्मचारी फुटसल टिम विरुद्ध नवजिवन पूर्नस्थापना केन्द्र विच हुने रस आवर फुटसल प्रा.लि.का प्रोपाईटर राजु केसीले जानकारी दिनुभयो ।










