टिमवर्कले गर्दा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स अगाडीः सिईओ लोहनी

बागलुङ, २८ साउन ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण बाबु लोहनीले पछिल्लो समयमा स्थापना भएका बीमा कम्पनीहरु गाउँ र दुरदराजका क्षेत्रमा जान लागेकाले बीमाकर्ताहरुको संख्यामा वृद्धि भइरहेको बताए ।
पहिले थोरै बीमा कम्पनीहरु रहेको र उनीहरु शहरमा मात्र केन्द्रित हुने र गाउँ नजाने गरेकाले बीमा प्रति आमसर्वसाधारणहरुको चासो नहुने गरेको बताउने सिईओ लोहनीले पछिल्लो समयका बीमा कम्पनीहरुले जोखिम लिएर गाउँ–गाउँमा जाने गरेकाले बीमाको बारेमा सर्वसाधारणहरुमा सकरात्मक सोच पैदा भएको बताए ।
उनै सिईओ लोहनीसँग अहिले बीमा क्षेत्रको समग्र अवस्था र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लगायतका विविध विषयमा खबरवे अनलाईनका कार्यकारी सम्पादक अर्जुन कार्कीले गरेको संक्षिप्त कुराकानी ।
१) हजुरले आम सर्वसाधारणको बीमाप्रतिको धारणा कस्तो पाउनु भएको छ ?
बीमा प्रति सर्वसाधारणको धारण अहिले सकरात्मक हुँदै गएको पाएको छु । सर्बसाधारणहरुको धारण सुन्दा बीमाप्रति जुन किसिमको जनचेतना जगाउनुपर्ने हो त्यो अझै कमि रहेको जस्तो लाग्छ । अहिले ग्रामिण भेगमा पनि बीमाको जनचेतना जगाउने क्रम बढ्दै गएको छ र नेपालीहरुको आर्थिक स्तर बढेकाले सन्तानको लागि र आफ्नो लागि बीमा गर्नुपर्छ भन्ने धाराण पैदा भएको छ ।
२) बीमाप्रति अझै पनि आकर्षण त्यति धेरै देखिदैन । किन हो जस्तो लाग्छ ?
यसको लागि अझै हामीले शिक्षा जगाउन नसकेकोले हो जस्तो लाग्छ । बीमाको फाइदा के हो, बीमा के हो भन्ने बारेमा जानकारी गराउन नसकेको कारणले गर्दा आकर्षण नभएको जस्तो लाग्छ ।
हामीले बीमा एउटा बचत हो र यसले रिक्स कभर गर्छ भन्ने जानकारी गरानुपर्छ र बीमा मृत्युपछि मात्र नभएर अगाडीको बचत हो भन्ने धारणा पैदा गर्नुपर्छ ।
३) प्रत्येक वर्ष बीमा रकम तिर्नुपर्ने, बीमा अल्लि धेरै गर्नुपर्ने त्यसको लागि प्रत्येक वर्ष धेरै रकम तिरिरहनुपर्ने भएकाले अहिले पनि आर्थिक अवस्था कमजोर भएकालाई बीमा गर्न गाह्रो छ भन्ने छनी ?
त्यस्तो छैन । पहिलो कुरा बीमा गर्नुपर्छ भन्ने मानसिकता भएमा अहिले ५० हजारको बीमा गर्न दिनको १ रुपैयाँ भन्दा कम रकमको बचतले पनि सम्भव छ । विदेशमा अरुकुरा छोडेर पहिले बीमा गर्ने र अरु खर्च गर्ने चलन हुन्छ तर हाम्रो देशमा अभिकर्ता आएर धेरै आग्रह गरेपछि मात्र बीमा गर्ने चलन हुन्छ तर प्रिमियमको कारणले हो जस्तो मलाई लाग्दैन ।
४) दाबी भुक्तानी नहुने र भइहाले पनि निकै झन्झटिलो व्यवस्थाका कारण पनि बीमामा आकर्षण नदेखिएको हो कि ? के लाग्छ हजुरलाई ?
बीमा मृत्यु भएपछि मात्र पाउने नभएर पहिले पनि पाउने धेरै किसिमका बीमा पोलिसिहरु छन् । हामीले सेवा र सुवीधामा ग्राहकहरुलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेका छौं । हामीले सवै दाबी भुक्तानीहरु सवै डकुमेन्टहरु बुझाएको ३ दिनभित्र भुक्तानी गर्ने गरेकाछौं । सवै बीमा कम्पनीहरुले ग्राहकलाई केन्द्र विन्दुमा राखेर सेवा दिनुपर्छ । त्यसले गर्दा सवैमा बीमा सम्बन्धी राम्रो धारणा पैदा गर्छ ।
५) नेपालको विमा क्षेत्र वित्तिय क्षेत्र जसरी अगाडि बढ्न नसक्नुको कारण के हो ?
तपाईले ठिक कुरा गर्नुभयो । पहिले कम्पनीहरु कम थिए । उहाँहरुको पुँजी कम र अभिकर्ताहरु पनि कम भएकाले गर्दा शहरकेन्दित हुनुहुन्थ्यो । उहाँहरुलाई व्यवसाय चलेको पनि थियो । अहिले नयाँ कम्पनीहरु आएपछि हजुरहरुले देख्न सक्नुहुन्छ देशका गाउँ/दुरदराजमा जाने काम भएको छ ।
अहिले हेर्दा बीमा प्रिमियममा करिव ५० प्रतिशत विजनेश गरेको देखिएको छ । पछिल्लो समय बीमा प्रति सर्वसाधारणहरुको सकरात्मक सोच र बीमा गर्नुपर्छ भन्ने धाराण पैदा हुँदै गएकाले बीमा क्षेत्र पनि वित्तिय क्षेत्र जसरी अगाडि बढ्ने देखिएको छ ।
६) बीमा कम्पनीहरु शहर केन्द्रित अझ त्यसमा पनि राजधानी केन्द्रित भए भन्ने पनि आरोप छ नि ?
हामीहरुको कम्पनी संचालन गरेको करिव १ वर्षजति भयो । हामीले ४५ जति शाखा संचालन गरेका छौं । हाम्रा शाखाहरु उपत्यका भन्दा पनि धेरै बाहिरै रहेका छन् । विस्तारै हामी २ वर्षभित्र ७७ जिल्लामा पुग्ने सोच गराएका छौं । हाम्रो कार्यालय शहरमा भएपनि हामीसँग सहकार्य गरेका बैंक, माइक्रोफाइनस कम्पनी, अभिकर्ता साथीहरु गाउँ र दुरदराजमा पुगेर बीमाको जानकारी र बीमा गर्ने काम गराउनुहुन्छ ।
७) अन्य बीमा कम्पनीभन्दा के कति कारणले रिलायबल नेपाल लाईफ भिन्न छ ?
यसमा हामीले थोरै प्रिमियममा धेरै रिक्स कभर गर्ने योजना लिएका छौं । हामीले सवै तह र तप्काका मानिसहरुलाई सहज पु¥याने विमा संचालन गरेका छौं । हामीले ग्राहकलाई दिने सेवामा अन्य कम्पनीले भन्दा सरल, सहज र छिटो गरेका छौं ।
८) रिलायबल नेपाल लाईफ सञ्चालनको एक वर्ष नहुँदै राम्रो व्यवसाय गर्न सफल भएको तथ्यांकले नै देखाउँछ , कसरी सम्भव भयो ?
यो टिमवर्कले गर्दा सम्भव भएको जस्तो लाग्छ मलाई । हामी सफल हुनुमा सर्वसाधारणहरु, ग्राहक र सवै शाखाका कर्मचारीहरुको सहयोग नै मुख्य हो ।
९) रिलायबल लाईफको पोलिसीबारे जानकारी दिनुहोस न ?
हामीले अहिले सावधिक तथा आजिवन बीमा योजना, सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, सजिलो एक जीवन बीमा, रिलायबल धनपति जीवन बीमा पोलिसी अहिले संचालन भईरहेको छ ।
हामीले स्वास्थ्यसम्बन्धी बीमा पोलिसी ल्याउने तयारीमा छौं । हामीले सवै वर्गका मानिसहरुलाई समेट्ने खालका पोलिसीहरु संचालन गरेका छौं र नयाँ पोलिसी ल्याउँदा पनि सवैलाई समेट्ने खालको ल्याउने छौं ।
१०) आगामी दिनमा रिलायबल नेपाल लाईफलाई कसरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ ?
हामी दुरदराजमा शाखा संचालन गर्ने, कर्मचारीहरुलाई तालिम संचालन गर्ने, सर्वसाधारणहरुलाई पनि बीमाको बारेमा जनचेतना बढाउने, बिदेशमा रहेका नेपालीहरुलाई पनि बीमा गर्नको लागि प्रोत्साहित गर्ने, सवै वर्गलाई समेट्ने बीमा पोलिसी संचालन गर्ने योजना छ ।