पोर्चुगलद्वारा मोरक्को पराजित (खेलको हाईलाईट भिडियोसहित)

28

एजेन्सी ।
कप्तान क्रिस्टियानो रोनाल्डो नायक बन्दा पोर्चुगलले फिफा विश्वकप फुटबलमा मोरक्कोलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
लुजिनिकी रंगशालामा आज भएको खेलमा रोनाल्डोको निर्णायक गोल गर्दा पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको हो । पहिलो हाफको चौथो मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । रोनाल्डोले उत्कृष्ट हेड गोल गरे । उक्त गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो ।
रुसमा जारी विश्वकपमा रोनाल्डोको यो चौथो गोल हो । उनले पहिलो खेल स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
मोरक्कोविरुद्ध जित निकालेसँगै पोर्चुगलले दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । जितपछि दुई खेलबाट पोर्चुगलले ४ अंक जोडेको छ । पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३ – ३ गोलको बराबरीमा रोकिएको थियो । पोर्चुगलले अब इरानसँग खेल्ने छ ।
यता, मोरक्कोको यो लगातार दोस्रो हार हो । पोर्चुगलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा मोरक्को पराजित हुन् पुगेको हो । उसको आधा दर्जन पोष्ट आक्रमणले पोष्टको जाली चुम्न सकेन ।
यो हारसँगै मोरक्कोको दोस्रो चरण पुग्ने सम्भावना गणितीय मात्र बाँकी भएको छ । यसअघि पहिलो खेलमा मोरक्को इरानसँग १-० ले पराजित भएको थियो ।मोरक्कोले अब स्पेनसँग खेल्ने छ ।