ब्राजिललाई धक्का, पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरी

स्तोभ अन डन (एजेन्सी)
दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ ।
साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै ब्राजिललाई निराश बनाएका थिए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए । आइसल्यान्डका खेलाडीले लियोन मेस्सीलाई चल्न नदिएको भोली पल्ट ब्राजिलियन स्टार नेयमारलाई पनि स्विट्जरल्यान्डका रक्षकले उच्च प्रदर्शन गर्नबाट रोकेका थिए । शनिबार पहिलो पटक विश्व कप खेलिरहेको आइसल्यान्डसँग मेस्सीको अर्जेन्टिना पनि १–१ को बराबरीमा रोकिएको थियो ।
त्यसका वावजुद पनि नेयमारले केहि प्रयास गरे, तर सफल हुन सकेनन् । समूह इको यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो । सर्बिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्राजिल र स्विट्जरल्यान्डको समान १ अंक छ । कोस्टा रिका अंक विहिन छ ।

२०७५ असार ४ गते  प्रकाशित