बागलुङ नगरले फुटपाथ र लथालिङ्ग तार हटाउने

146

बागलुङ, २२ माघ
बागलुङ नगरपालिकाले बजारको सुन्दरता र यात्रुको सहजताको लागि अग्रसरता देखाएको छ ।
नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा सोमबार बसेको सरोकारवालाहरुको बैठकले आगमी दिनमा बजार क्षेत्रभित्र लामो दुरीका सवारी प्रवेश निषेध गरी लोकमार्गको बाटो (रामरेखा हुँदै) आवत जावतको व्यवस्थापन गर्ने, बजार भित्र रहेका विजुली, केवल, इन्टरनेट लगायतका अनावश्यक तार हटाउने, सडक असहजगरी बनेको फुटपाथ हटाउने लगायतका निर्णय गरेको छ ।
बैठकले आगमी दिनमा बजार अनुगम नगरपालिकाले गर्ने निर्णय गरेको छ । यस अघि उपभोक्ता मञ्चले बजार अनुगमन गर्दै आएको थियो । नगर प्रमुख पौडेलका अनुसार बजारको सौन्दर्यतालाई ध्यान दिँदै यातायात आवत जावत र पैदलयात्रीलाई सहजता सिर्जना गर्न बजारका मुख्य सडकमा ट्राफिक चिह्न राख्ने निर्णय भएको छ ।
नगरपालिकाले गरेका निर्णयलाई तत्काल कार्यन्वय गर्न पूर्वधार विकास समितिका संयोजक धुर्वबहादुर केसीको संयोजकत्वमा ११ सदस्य कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा वडा नम्बर २ का अध्यक्ष जीवन शर्मा, ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, विद्युत प्राधिकरण प्रतिनिधि, यातायत व्यवसायि समितिका प्रतिनिधि, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेल, नगर खानेपानी तथा सरसफाई उपभोक्ता संघका प्रतिनिधि र नगरपालिका राजश्व शाखा प्रमुख सदस्य रहने बताइएको छ ।