
बागलुङ, २२ माघ
प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७४ पत्रकार रामबहादुर जिसीलाई प्रदान गरिएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आफ्नो २०औँ स्थापना दिवसको अवसरमा पत्रकार महासंघका पूर्वअध्यक्ष तथा धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसीलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको हो ।
प्रेस चौतारी बागलुङले हरेक वर्ष क्रियाशिलता, निरन्तरता र जेष्ठताको आधारमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजिवी पत्रकार प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने नारासाथ आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण समारोहमा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले समाज परिवर्तनको लागि संचार जगतको भुमिका प्रभावकारी हुने बताउँदै सामाजिक रुपान्तरण र समाजवाद उन्मुख आर्थिक विकासको लक्ष्य प्राप्तीको लागि सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव लालबहादुर थापा, नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष हरिनारायण गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा, पुरस्कृत व्यक्ति रामबहादुर जिसी, प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष राम थापा अविरल, प्रेस युनियन बागलुङका सचिव संगम घर्ती, प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष नवीन शिशिर को स्वागत र सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पुरस्कृत व्यक्ति रामबहादुर जिसीको व्यक्तिगत परिचय नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषल गर्नुभएको थियो । प्रेस चौतारीले नेपाल नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निर्माणको ५ हजार ५ रूपैयाँ नगद सहयोग प्रदान गरिएको छ ।










