स्याङजाको वालिङ नगरले जित्यो मेयर कपको उपाधि

372

अर्जुन कार्की
बागलुङ, २१ माघ
बागलुङ नगरपालिकाको आयोजनामा संचालित प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलको उपाधि स्याङजाको वालिङ नगरपालिकाले चुमेको छ ।
आईतबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको फाईनल खेलमा पोखरा लेखनाथ महानगरपालिका कास्कीलाई १–० गोलअन्तरले पराजित गर्दै वालिङले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको एक मात्र गोल वालिङका सफल थापाले गरेका थिए । उनले खेलको १ औं मिनेटमा अजिज दिन मियाँले गोलकिपरलाई विट गर्दै निकालिदिएको उत्कृष्ट पासमा गोल गरेका थिए । उनको उक्त गोल नै खेलको निर्णायक बन्यो ।
एक गोलले पछि परेपनि खेल अवधिभर पोखराले वालिङको गोलपोष्टमा उत्कृष्ट प्रहार गरिरहेपनि गोलरक्षक राजाबाबु थापा बाधक बनेका थिए । पोखराले खेलको २३ औं मिनेटमा डिबक्सभन्दा केही बाहिर पाएको फ्रिकिकमा उत्तम गुरुङको प्रहार गोलरक्षक थापा बाधक बनिदिएका थिए ।
यस्तै खेलको ३९ औं मिनेटमा पोखराका त्रिदेव गुरुङ र पहिलो हाफको अतिरित्त समयमो २ मिनेटमा लक्ष्मण जिसीको प्रहार वालिङका गोरक्षकले विफल पारिदिएका थिए । खेलको ७९ मिनेटमा वालिङका कप्तान लक्ष्मण रुचाल र पोखराका अञ्जान देसवकोटाले दोहोरो पहेलो कार्ड सहित रेडकार्ड खाँदै बाहिरिदिएका थिए ।
वालिङ नगरपालिका स्याङजाले उपाधिको ट्रफि सहित नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त ग¥यो भने उपाविजेतामा चित्त बुझाएको पोखरा लेखनाथ महानगरपालिकाले ट्रफि सहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वालिङका गोलरक्षक राजाबाबु थापा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । उनले प्रतियोगितामा कुनै गोल खाएनन् । यस्तै उच्च गोलकर्ता पोखरा लेखनाथका भिषण गुरुङ, उत्कृष्ट स्ट्राईकर पोखराका विजय श्रेष्ठ, मिडफिल्डर पोखराका टंक प्रसाद गुरुङ, उत्कृष्ट रक्षपत्ति पोखराका लक्ष्मण जिसी, उत्कृष्ट गोलरक्षक पोखराका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक वालिङका प्रशिक्षक केशर थापा र अनुशासित टिम व्यास नगरपालिका तनहुँ घोषित भएको खबरवे अनलाईनलाई जानकारी दिए ।
खेलपछि बोल्दै वालिङ नगरपालिकाका प्रशिक्षक केशर थापाले आफुहरु रणनीति अनुसार खेलेकाले जित सम्भव भएको बताए । उनले सेमिफाईनलको जितपछि फाईनलको लागि पहिलेबाट काउन्टर आक्रमण गर्ने र पोखराको कमजोरीको फाईदा उठाउने रणनीति बनाएको र त्यो सफल भएको बताए । प्रशिक्षक थापाले खेलअवधिभर पोखराको टिमले उत्कृष्ट खेल प्रस्तुत गरेको बताए ।
यस्तै पोखराका प्रशिक्षक पलाद हिराचनले रेफ्रिको कमजोर निर्णयले हार व्यहोर्नुपरेको बताए । उनले आफ्ना खेलाडीहरुको गल्ती नहुँदा पनि रेफ्रिले गल्ती दिएको भन्दै आक्रोस पोखे ।
प्रतियोगिताको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघका बागलुङले गरेका थिए ।