मेयर कपः पोखरा लेखनाथ महानगरपालिका र वालिङ नगरपालिका सेमिफाईनलमा

अर्जुन कार्की
बागलुङ, १९ माघ ।
पोखरा लेखनाथ महानगरपालिका कास्की र वालिङ नगरपालिका स्याङ्जा बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको क्वाटरफाईनल खेलमा कुश्मा नगरपालिका पर्वतलाई फराकिलो गोलअन्तरले पराजित गर्दै पोखरा सेमिफाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको उपाधिको दाबेदारको रुपमा हेरिएको पोखराले कुश्मालाई ६–० गोलअन्तरले पराजित गरेको हो ।
खेलअवधिभर कुश्माको पोष्टमा लगातार प्रहार गरेको पोखराले खेलको २२ मिनेटमा विनोद गुरुङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा २ गोल गरेको पोखराको लागि खेलको ३२ मिनेटमा विजय श्रेष्ठले गोल गरेका थिए ।
दोस्रो हाफमा कुश्मालाई झन दबाबमा राखेको पोखराको लागि ६० मिनेटमा मान बहादुर तामानले गोल गरेका थिए । प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका पोखराका भिषण गुरुङले खेलको ६४, ६६ र ७९ मिनेटमा गोल गरेका थिए ।
यस्तै आजै भएको अन्तिम क्वाटरफाईनल खेलमा बेनी नगरपालिका म्याग्दीलाई २–० गोलअन्तरले पराजित गर्दै वालिङ नगरपालिका स्याङजा सेमिफाईनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा वालिङले दोस्रो हाफमा गोल गरेको थियो ।
पहिलो हाफमा निकै लयमा देखिएको बेनीको केही प्रहार वालिङका गोलरक्षकले विफल पारिदिएका थिए । पहिलो हाफको अन्तिम तिरबाट आफ्नो लय समातेको वालिङले केही प्रहार गरेता पनि पहिलो हाफमा भने गोल गर्न सकेन् । दोस्रो हाफमा बेनीलाई दबाबमा राखेको वालिङको लागि ४८ मिनेटमा सफल थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले गोलकिपर अगाडी बढेको फाईदा उठाउँदै गोल गरेका थिए । वालिङको लागि ६८ मिनेटमा अजिज दिन मियाँले गोल गर्दै टिमलाई सेमिफाईनलमा पु¥याए ।
नकआउटका आधारमा जारी प्रतियोगितामा शुक्रबार सेमिफाईनलका खेलहरु हुने आयोजक बागलुङ नगरपालिकाले जनाएको छ । पहिलो सेमिफाईनल खेलमा गोरखा नगरपालिका गोरखा विरुद्ध पोखरा लेखनाथ महानगरपालिका कास्की र दोस्रो सेमिफाईनल खेल व्यास नगरपालिका तनहुँ विरुद्ध वालिङ नगरपालिका स्याङजा विच हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
आजको खेलहरु एन्फा रेफ्रीहरु रिपन शाक्य, ज्ञान बहादुर थापा, अशोक गुरुङ, लक्ष्मण गुरुङ, दिपक थापा र साजन कार्कीले संचालन गर्नुभएको थियो ।
मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।