मेयर कपः गोरखा र व्यास नगरपालिका सेमिफाईनलमा, आयोजक बाहिरियो

अर्जुन कार्की
बागलुङ, १८ माघ ।
गोरखा नगरपालिका गोरखा र व्यास नगरपालिका तनहुँ बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो क्वाटरफाईनल खेलमा क्वाटरफाईनल खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै गोरखा सेमिफाईनलमा प्रवेश गरेको हो ।
गोरखाले ९ मिनेटमा जमिर मास्केको गोलबाट अग्रता लिएता पनि देवचुलीका सुमन आलेले २५ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेका सुदिप बस्नेतले ३३ मिनेटमा गोल गर्दै गोरखालाई अग्रता दिलाएका थिए । उनी खेलको म्यान अफदी म्याच घोषित भएका थिए ।


पहिलो हाफमा १ गोलको अग्रता लिएको गोरखाको लागि दोस्रो हाफमा सरोज श्रेष्ठले ७२ मिनेटमा गोल गर्दै जित निश्चित गरेका थिए ।
यस्तै आजै भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक बागलुङ नगरपालिकालाई ४–२ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा आक्रमक खेल प्रस्तुत गरेको व्यासको लागि खेलको ९ मिनेटमा अञ्जान प्रधानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेको २ मिनेटमै अर्को गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । खेलको २८ मिनेटमा अजय श्रेष्ठले गोल गर्दै व्यासलाई पहिलो हाफमा ३ गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको आयोजक बागलुङले ५० मिनेटमा प्रमल थापाको गोलले अन्तर घटाएको थियो । खेलको ५० मिनेटमा व्यासको लागि आदर्श चन्दले गोल गर्दै टिमलाई पुनः ३ गोलकै अन्तर दिलाएका थिए ।
अन्तिम गोल ५८ मिनेटमा बागलुङ प्रमल थापाले वान भर्सेज वानमा गोल गरेता पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
यस्तै बिहीबार नै हुने भनिएको बेनी नगरपालिका म्याग्दी विरुद्ध गैडाकोट नगरपालिका नवलपुरको खेलमा गैडाकोट उपस्थित नभएपछि बेनी विजयी भएको आयोजकले जनाएको छ ।
नकआउटका आधारमा जारी प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार पहिलो खेल पोखरा लेखनाथ महानगरपालिका विरुद्ध कुश्मा नगरपालिका पर्वत र दोस्रो खेल वालिङ नगरपालिका स्याङजा विरुद्ध बेनी नगरपालिका म्याग्दीका विच हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
आजको खेलहरु एन्फा रेफ्रीहरु रिपन शाक्य, ज्ञान बहादुर थापा, अशोक गुरुङ, लक्ष्मण गुरुङ, दिपक थापा र साजन कार्कीले संचालन गर्नुभएको थियो ।
मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।