विहुँमा ४ नम्बर प्रदेश स्तरिय कराँते प्रतियोगिता हुने

282

बागलुङ, १२ माघ
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा प्रदेश नम्बर ४ स्तरिय सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोलाको आयोजना तथा बिहुँकोट सितोरियो कराते डोजोको प्राविधिक सहयोगमा विहुँमा फागुन १ देखि ३ गतेसम्म प्रतियोगिता गर्न लागिएको शुक्रवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ जिल्लामा मुस्ताङ र मनाङ बाहेकका ९ जिल्लाका २ सय ८० खेलाडी सहभागिता हुने आयोजकले जनाएको छ । धेरै मेहनत र साहस गरेर प्रदेश स्तरिय प्रतियोगिता गाउँमै आयोजना गर्न लागिएको बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष तथा बिहुँकोट सितोरियो कराते डोजोका सञ्चालक प्रशिक्षक कृष्ण कंडेलले बताउनुभयो । कराँतेका नियमित प्रतियोगिताहरु केन्द्र र जिल्ला स्तरमा पनि नभएकाले गाउँमै प्रदेश स्तरिय प्रतियोगिता आयोजना गरेर नयाँ सन्देश प्रवाह गर्न लागिएको उहाँको भनाई छ । प्रतियोगितामा २५ देखी ६० केजी तौल समूहका महिला ८ र पुरुष ८ गरि १६ वटा र एकल तथा सामुहिक काँताका ४ वटा प्रतिस्पर्धा गरि कुल २० इभेण्ट हुनेछ । प्रतियोगितामा अरु जिल्लाबाट १८ जना खेलाडी र २ जना अपिसियल गरी २०–२० जना आउनेछन् भने बागलुङबाट भने खेलाडीहरु केही बढि हुने आयोजकले जनाएको छ ।
जसमा २३ स्वर्ण, २३ रजत र ४६ कास्य पदक गरी कुल ९२ पदकका लागि खेलाडीहरु मैदान उत्रिनेछन् । बाहिरबाट आउने सबै खेलाडीहरुलाई खाना र बस्नको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ५ लाख ३१ हजार भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । यो सबै खर्च हामीले स्थानीय स्तरबाटै संकलन गर्ने गरि अभियान शुरु गरेको अध्यक्ष कंडेलले जानकारी दिनुभयो । उहाँले जिल्ला र गाउँको पहिचान प्रतिष्ठा सँग जोडिएको प्रतियोगितालाई सफल पार्न सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रम बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका सचिव सन्तोष पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
विहुँको खेलकुद तथा समाज विकास केन्द्रले अघिल्लो वर्ष धौलागिरी अञ्चल स्तरिय कराँते प्रतियोगिता आयोजना गरेको थियो ।