
मेरा बाजे
बर्षौ भयो देश बनाउन हिडेको
संघर्षको लठ्ठी टेक्दै टेक्दै
आदिम देशमा-
अझै हिडिरहेछन निरन्तर यात्रामा ।
यो पहाड , यो हिमाल
अनि उ त्यो तराई ,
हो यो सिंगो देश
अडिएको छ बाजेको काधमा
हिजो गाउँको खुसी बोकेर
संसद भवन छिरेका नातीहरु
नफर्के पछी बिकास बोकेर ,
नआए पछि योजना र क्रान्ति लिएर
मेरा बाजे –
अध्यारोमा दिन बोकेर ,
दिनमा खोज्दै हिड्नु परेको हो
नातीहरुको पद्चाप
सिंहदरबारको अखडामा
बाजेकै पसिनाको जुवा
खेलिरहेका नातीहरु ,
भेटिएपछि अकस्मात !
बेश्यालयको नग्नतामा देखियो –
बाजेको देश ।
छोराहरुको हनिमुनमा भेटियो
आमाको छाती ।
हो ,, अस्ति बलात्कृत देश बोकेर
देशको अस्मिता खोज्न पलायन बुवाहरु
हिजो आज पठाइरहेछन
आमाको रगत , पसिना बेचेर
अर्थतन्त्र , रेमिटेन्स ।
यो सरकार , यो राज्यसत्ता,
मृत्युमा पनि जीवन्त टिक्नु
बुवाहरुकै देन हो
बाजेको देश ,
बाजेको देश आज
राखिएको छ
हिरासतको बृद्धआश्रममा ।
बाजेहरु बन्धक छन आजीवन ।
त्यसैले बाजेको देश ,
अबको युग “मैले” –
मुक्त पार्नुछ आश्वासनको बन्धनबाट
बन्दुकको स्वायत्त शाशनबाट
अनि सत्ता खिचातानीको दलदलबाट ।
जसरी चल्नेछ
हिटलरको साम्राज्यमा बुद्धको नीति
बुद्धको बुद्धत्व ।।
-मगर प्रेम
बागलुङ










