६० लाखको जग्गा स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध

बागलुङ, ३० असोज
बागलुङ नगरपालिका–७ का स्थानीयले करिब ६० लाख बराबर मूल्य पर्ने जग्गा स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध गराउनुभएको छ ।
बानपा–७ निवासी मेघराज पाण्डेले आफ्नो नाममा रहेको ४ रोपनी जग्गा मुलपानी स्वास्थ्य चौकीलाई निःशुल्क बसक प्रदान गर्नुभएको हो । सो जग्गाको बजार मूल्य करिब ६० लाख पर्ने बताइएको छ ।
जग्गादाता पाण्डे हाल बानपा–२ मा बसोबास गर्दै आउनुभएको छ । स्वास्थ्य चौकीको आधुनिक सुविधा सम्पन्न भवन निर्माणको लागि उक्त जग्गा प्रयोग गरिने सिनियर अहेब सोमराज पाण्डेले जानकारी दिनुभएको छ ।
उक्त जग्गा मुलपानी स्वास्थ्यचौकीको नाममा नामसरी गरिएको छ । जग्गा उपलब्ध गराउनको लागि वडा अध्यक्ष खेमराज पाण्डे र स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हिरा क्षत्रीले पहल गर्नुभएको थियो ।