
नमस्कार नेता ज्यू
बन्द बाकसभित्र गुम्सिएर देशको रमिता हेरेको पनि जुगौ वितेछ । पोस्टमार्टम गर्दा मेरो छाती भित्र देशको नक्सा नदेखिए पनि मेरो छातीले थापेको गोली भने पक्कै सरकारी हो यो कुरामा म विश्वस्त छु । प्रिय नेता ज्यू म कति आतुर थिए होला मेरो छोराको बोलीबाट उसले मलाई बा भनेर बोलाएको सुन्ने । तर पहिले मैले देश सम्झिए । मन त मेरी छोरीलाई पनि थियो होला उसले विद्यालय प्रथम भएर पाएको पुरस्कार सर्वप्रथम मलाई देखाउन । थाहा छैन उ कति रोइ होला घरमा बा नदेख्दा । छाडिदिउ यी कुरा तपाईका छोराछोरी त विदेशमा छन् हैन ? साच्चै उनीहरू आफै कमाएर पढ्छन कि सरकार कै लागतमा पढिरहेका छन् । सुन्दैछु मेरो छोरा अरब गयो रे उसकी आमाले लगाएको सेतो सारी कालो हुँदा सम्म फेर्ने अवस्था नहुँदा । श्रीमतीलाई बिहेको दिन मैले रातो रङ दिए अनि देशले उसलाई सेतो रङ दियो ।

नेता ज्यू, सुनाउनुहोस न देशको खबर कस्तो छ ? तपाईलाई हेर्न धेरै मन छ । जुलुसमा हामी सबैभन्दा अगाडि र तपाईहरु सबैभन्दा पछाडि त्यो दिनदेखि हाम्रो भेट हुन सकेन । सामान्य रुघाखोकी लाग्दा विदेश जाने तपाईहरु रोगले त पक्कै हाम्रो भेट गराउदैन । खैर , समयले भेट गराउला । साच्चै नेता ज्यू कुर्सीकै होडबाजी चल्छ कि अचेल देश विकासमा पनि ध्यान जान्छ ? देश मागेरै चल्दैछ कि आयस्रोतका नया बाटाहरु पनि खनिएका छन ? धेरै कुरा सोध्ने मन छ लेखेर नसक्ने रहेछु ।
प्रत्येक दिन बाकसबाट आउने शरीर पनि सहिद हो नेता ज्यू उ देशले गर्दा होइन देशको लागि चाहिँ मरेको हो । वा भनौ उसले सरकारलाई झकझक्याएको हो । थाहा छैन कतिवटा बाकस आइपुग्दा निदाएको सरकार उठ्छ ।
त्यसैगरी, प्रत्येक बर्ष कोरियाको लागि ज्यान छाडेर तछाडमछाड गर्दै फारम भरिरहेका युवा देख्दा सरकारी नुन किन नुनिलो लाग्छ तपाईहरुलाइ ? के अब नेपाली सधै नेपाल सतीले सरापेको देश हो यहाँ अब केही हुदैन भन्ने भ्रममा नै बाँचिरहने त ? म/हामी देशका लागि मरेका हौँ कि नेताहरुको लागि ?
अन्त्यमा , यो चिहानभित्र गुम्सिएका लास पुनः ( जनता ) उठेछन् भने देश त फेरिन्छ फेरिन्छ अनि फेरिनेछन् देश हाक्ने चालकहरु ।
भवदीय
चिहान भित्रबाट शहिदहरु
(लेखक: निरज दाहाल)









