
बागलुङ, २४ असोज
आशन्न प्रतिनिधिसभाको चुनावमा ६०/४० प्रतिशतको भागवण्डाका लागि सैद्धान्तिक सहमति गरेका एमाले र माओवादी केन्द्रवीच कुन जिल्लामा कति सीट लिने भन्ने रस्साकस्सी सुरु भएको छ
एमालेले राजपाका विद्रोही नेता र नयाँ शक्तिलाई समेत सीट दिनुपर्ने भएकाले त्यसबाट उब्रेका सीटमा मात्रै ६०/४० को भागवण्डा गरिने अडान राखेको छ ।
त्यस अन्तरगत प्रदेश ४ मा प्रतिनिधिसभाका १६ सिटमध्ये माओवादीले ७ सिट दावी गरेको छ । तर, स्थानीय तहको चुनावको परिणाम र सांगठानिक अवस्था हेर्दा माओवादीलाई बढीमा ४ सिट भन्दा छाड्न नसकिने निष्कर्षमा एमाले नेताहरु छन् ।
माओवादीले गोरखाका दुबै सीट दाबी गरेको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् । अहिले यो सबैभन्दा पेचिलो विषय बनेको छ कार्यदलमा । माओवादी कायकर्ताहरु सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामप्रति असाध्यै नकारात्मक देखिएको एक एमाले नेताले बताए ।
स्रोतका अनुसार माओवादीलाई गोरखा, तनहँ र बाग्लुङमा एक-एक सीट दिन एमाले सहमत भएको छ ।
माओवादी नेता देव गुरुङले इच्छा व्यक्त गरेकाले एमालेका पृथ्वीसुब्बा गुरुङ सहमत भएमा माओवादीले लमजुङ पाउनेछ । कास्की र स्याङ्जामा भने माओवादीको जित्न सक्ने मत नभएकाले त्यहाँ दावी नगरेको एमाले नेता बताउँछन् । यद्यपि देव गुरुङले कास्की १ बाट चुनाव लड्ने रुची देखाएका छन् ।
मनाङ र मुस्ताङमा माओवादीको उपस्थिति कमजोर रहेकाले उसले म्याग्दीको प्रतिनिधिसभाको सीट दावी गरेको छ । सम्भवतः माओवादीले गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ र म्याग्दी समेत गरी ५ सीट पाउने एमाले नेता बताउँछन् ।










