
बागलुङ, २३ असोज
यहि असोज २९ गते बागलुङमा सांगितिक कार्यक्रम हुने भएको छ । विर गोर्खाली युवा क्लब बागलुङले शुभ दिपावलीको अवसरमा आयोजना गरेको उक्त कन्सटमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
‘युवाको चाहना खेलकुद, आर्थिक विकास, दुव्र्यासनी विरुद्ध जनचेतना र कला–संस्कृतिको जगेर्ना’ भन्ने नाराका साथ हुने कार्यक्रममा राष्ट्रिय कलाकार नरेन लिम्बु र आस्था व्यान्ड, इनफ्ल्याम व्याड, संकल्प व्यान्ड र स्थानिय कलाकारहरुले प्रस्तुति दिने क्लबका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
८ लाखको खर्च लाग्ने बताइएको उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा रहेका नेपालीहरु र कार्यक्रममा वितरण हुने टिकटबाट रकम संकलन गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रमबाट संकलन भएको रकम सामाजिक र परोपकारी कार्यमा खर्च गरिने क्लबका अध्यक्ष विष्टले बताउनुभयो ।
क्लबका अध्यक्ष बुद्ध विष्टको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको संचालन सचिव झोकेन्द्र थापा मगरले गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बोलेका थिए । क्लबले सोही दिनको विहान रक्तदान कार्यक्रम गर्ने पनि जानकारी गराएको छ । बागलुङ नगरपालिका वडा नम्बर २ पुरानो ओयसिस बोडिङ्गमा हुने लाईभ कन्सट हेर्नाको लागि एक हजार, पाँच सय र तीन सयको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।










