
बागलुङ १० असोज । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम निवासी विमा कुमारी किसानले यस वर्षको दशैलाई लक्षित गरेर ३ वटा खसी विक्री गरिन । खसी विक्रीबाट उनले ४२ हजार एक सय ८० रुपैयाँ कमाईन । घर खर्च चलाउन पनि मुस्किल पर्ने किसानलाई अहिले खसी, बोका विक्रिबाटै राम्रो आम्दानी हुन थालेको छ ।
‘महिलाहरुले पनि ब्यावसायीक रुपमा वाख्रा पालन गरेर एकै पटकमा यतीका धेरै पैसा आम्दानी गर्न सक्छौं भनेर कल्पना समेत गरेको थिएन, तर काम गर्दै गएपछी सम्भव हुने रहेछ भन्ने थाहा भएको छ’ उहाँले भन्नुभयो,‘दशैमा खसी वोका खोज्न ब्यापारीहरु गाउँ गाउँमा जानु परेन, हामीले नै खोलेको सहकारीवाट विक्रि वितरण गर्यौ, सहकारीवाट विक्रि गर्दा खसीलाई तौलेर विक्रि गर्छौं ।’
विमा कुमारी किसानले मात्र होईन तंग्रामका अन्य वाख्रा पालक किसानहरुले दशैलाई लक्षित गरी पालेका खसी, वोका विक्रि गरेर राम्रो आम्दानी गरेका छन् । २०७१ सालमा हेफर ईन्टरनेशनलले भीमापोखरा युवा क्लब विवाईसी बागलुङसँगको सहकार्यमा साविकको गाविसमा साना किसान उद्यमी सुदृढीकरण परियोजना सञ्चालन गरेपछी किसानहरु ब्यावसायीक वाख्रा पालनमा लागेका हुन् । किसानहरुले आफै सहकारी स्थापना गरी संस्थागत कारोवार समेत सुरु गरेका छन् । तंग्रामका महिलाहरुले २०७१ सालमा सप्तारङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था तथा बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाको स्थापना गरि सहकारी मार्फत खसी बोकाहरुलाई बजारमा विक्रि गर्दै आएका छन् ।
दुवै सहकारी मार्फत दशैलाई तंग्रामबाट एक सय चार वटा खसीहरु बागलुङमा पठाईएको बसन्त सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष दिल कुमारी पुनले बताउनुभयो । अहिले शेयरसदस्यहरुले पालेका खसी, बोकाहरुलाई सहकारी मार्फत खरिद गरि जिउँदो ३ सय ८० का दरले अझै तौल गरी बजारमा विक्रि गर्दै आएको अध्यक्ष पुनले बताउनुभयो । यस वर्षको दशैको लागि अझै धेरै खसीहरु बजारमा विक्रि गर्ने उद्देश्य रहेता पनि बजारमा विक्रि गरिदै आएका मिट पसलहरुले राख्ने ठाउँको अभाव रहेको जनाएकाले अहिले छिमेकी वडाहरु धम्जा, विहुँ, भीमापोखरा, रेश लगायतका स्थानहरुमा विक्रि गरिरहेको बसन्त सामाजिक उद्यमी महिला सहकारीकी प्रबन्धक हेमा विकले जानकारी दिनुभयो ।
सहकारी मार्फत किसानले उत्पादन गरेको खसी वोका तौलेर विक्रि गर्न थालेपछी प्रत्यक्ष रुपमा कृषकहरुलाई राम्रो आम्दानी हुँदै आएको छ । ‘तौल गरेर नदीदा खेरी कती आम्दानी भयो, कती नोक्सान भयो, हिसाव किताव राख्न सकिदैन तर, अहीले तौल गरेर विक्रि गर्दा किसान नाफामै छौं’ सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष थम कुमारी श्रीसले भन्नुभयो,‘तंग्रामवाट सुरु भएको खसी, वोका तौलेर विक्रि गर्ने अभियान अन्य किसानहरुले पनि अवलम्वन गर्दा ठगीने समस्यावाट वच्न सकिन्छ ।’ सहकारीहरुले अहिले प्रत्येक महिना एक सय भन्दा बढी खसी, बोकाहरु बजारमा विक्रि गर्दै आएको अध्यक्ष श्रीसले बताउनुभयो ।
आफै उत्पादन गरेको खसी वोका सहकारी मार्फत विक्रि गर्दा उनिहरुमा ब्यावसायीक दक्षताको विकास भएको हेफर ईन्टरनेशनलका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले बताउनुभयो । किसानहरुलको अहीले बजारमा पहुँच पुगेको छ । ‘बजारमा किसानको पहुँच वढेको छ’ उहाँले भन्नुभयो, ‘अरु खसी पनि किसानले तौलेर विक्रि गर्न थालेका छन्, ब्यापारीले पनि तौलेर किसानले उत्पादन गरेको खसी, वोका खरीद गर्ने गरेका छन्, किसान र ब्यापारीको विचमा समन्वय छ, ब्यवसायीले गुणस्तरीय र आवश्यकता अनुसारको खसी एकै स्थानवाट पाउन सफल भएका छन् ।’










