राजनैतिक संस्कार र नैतिकतामा नेपाली काँग्रेस

नेपाली काग्रेसका आदर्श व्यक्ति र नेपाली जनताका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोईरालाको १०४औँ जन्मजयन्ती शनिबार विगतमा जस्तै विविध कार्यक्रम गरी स्थानीय देखि राष्ट्रिय स्तरसम्म सम्झने काम गरिएको छ । एक आदर्श व्यक्तिलाई निरन्तर जीवित राख्न गरिने प्रयास समाज र भावि पुस्ताको लागि पनि सकरात्मक विषय हो । वि.पी कोईराला एक कुशल राजनीतिक व्यक्तित्व मात्र नभएर नेपाली बाङमयका उत्कृष्ट सर्जक पनि हुनुहुन्छ । उहाँले आफ्ना कृति मार्फत नेपाली समाजमा व्याप्त सामाजिक विकृतिलाई अक्षरको अस्त्र बनाएर निरन्तर प्रहार गर्नुभएको थियो । उहाँको लेखाई समाज रुपान्तरणको लागि तत्कालिन अवस्थामा उपयुक्त अस्त्र पनि बन्यो । तर महान साहित्य व्यक्ति कोईरालालाई साहित्य क्षेत्रमा क्रियाशिल संघ संस्थाले पनि सम्झनु पर्ने हो । यो हुन सकेको छैन । उहाँलाई एक राजनीतिक दलको व्यक्तिको रुपमा मात्र चित्रण गर्नुभन्दा पनि साहित्यसँग पनि जोडन आवश्यक छ ।
राजनीति मार्फत शोषित पिडित, गरिब, किसान, असहाय, निमुखा जनताहरुको पक्षमा आफुलाई उभ्याएर नेपाली जनताको पसिना र मेहनतमा राज गरेका जहाँनिय राणा शासनको अन्त्य गर्दै निरंकुश राजाको शासनलाई समेत चुनौति दिदै सदैव जनताका पक्षमा आफ्ना विचार र नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको कोईरालाको नीति, विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक छ भन्ने काँग्रेसका निष्कर्ष छ तर पछिल्ला केही दशक यता नेपाली काग्रेसले लिएको नीति र उसको व्यवहारलाई हेर्ने हो भने व्यवहारिक रुपमा अतिनै भिन्न र विपीको विचारसँग मेल खाँदैन यस तर्फ विपीलाई आर्दश व्यक्ति मान्ने नेपाली काग्रेस भित्र घनिभूत छलफल आवश्यक देखिन्छ ।
नेपाल र नेपालीको सपनालाई सार्थक बनाउने प्रयासमा अघि बढेका विपिलाई वारम्वार अन्याय गरिरहेको छ, भुलिरहेको छ, नेपाली काँग्रेसले किन ? २०३९ साल सम्म विपीले दिएको योगदानलाई बलियो बनाउने जनताले दिएको महामानवको सम्मानलाई नयाँ पुस्ता विचमा लैजाने, उहाँको वैचारिक र व्यवहारिक जीवन पद्धितलाई अनुसरण गर्ने र गराउने अभियानमा नेपाली काँग्रेस पटक पटक चुकेको छ । यस तर्फ समयमै ध्यान दिनु पर्छ । राजनैतिक संस्कार र नैतिकतामा नेपाली काग्रेस ढुलमुलाउनु हुँदैन ।

२०७४ भदौ २६ गते प्रकाशित