बागलुङ, २१ असार
बागलुङको गल्कोट नगर पालिका ४ वोहोराफाटका मृगौला पिडित भिमबहादुर बोहोराको उपचारको लागि जापान नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय जनमोर्चा निकट जापान नेपाली एकता समाज क्षेत्रिय समिति ओसाकाले पिडित बोहराको उपचारका लागि ८५ हजार रुपैया सहयोग गरेको हो ।
समाजका अध्यक्ष कमल कार्की र बोहराफाँट निवासी जंगबहादुर बोहराको सक्रियतामा समाजका पदाधिकारी तथा सदस्य एवं जापानमा रहेका नेपालीहरुले संकलन गरेको रकम उपचारको सिलशिलामा काठमाण्डौ रहेका पिडित परिवारलाई हस्तान्तरण गरिएको बताइएको छ ।
उक्त रकम नेकपा मसालका नेता आनन्द शर्मा, राष्ट्रिय जनमोर्चाका रितु केसि, विष्णु शर्मा, गणेश कुवार, रोसन दानी र हाँक साप्ताहिकका पत्रकार नारायण शर्मा को उपस्थितमा हस्तान्तरण गरिएको यामबहादुर कार्कीले जानकारी दिनुभयो ।
समाजका पदाधिकारी तथा सदस्यहरुवाट संकलन गरिएको र नेपाली एकता समाज जापान केन्द्रीय समीतीबाट प्राप्त भएको ९५ हजार ८ सय ३३ जापानी यान रकमवाट पर्न आउने रकम मध्य ८५ हजार रुपैया पठाई सहयोग गरिएको अध्यक्ष कमल कार्कीले बताउनुभयो ।
काम अध्ययन र व्यवसायको क्रममा जापान रहेपनि सामाजिक कार्य अन्तरगत समस्यामा परेकाहरुलाई बिगत देखि नै समाजले सहयोग गर्दै आएको अध्यक्ष कार्कीको भनाई रहेको छ ।










