टिका संगम वि.क.
यतिवेला हामी स्थानिय तहको निर्वाचनको माहोलमा छौ । पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको छ भने दोश्रो चरणको निर्बाचन अन्तिम तयारीमा रहेको छ । नेपाली जनताले निकै लामो समयको ब्यग्र प्रतिक्षा पछि आफ्नो प्रतिनिधि आफै चुन्न पाउने अवसर पाईरहेका छन । राज्यको पुनरसंरचना अनुसार सिङ्गो गाउँ विकास समिति यति बेला एउटा वार्डमा परिणत भएको छ । धेरै गाविस मिलेर एउटा गाउँपालिका बनेको छ । यतिवेला जनताले आफुले चाहेको व्यक्ति जनप्रतिनिधिको हैसियतामा पाएका छन । समानुपातिक र समावेशी सिद्धान्तको आधारमा महिला, दलित, र अल्पसंख्यक समुदायका प्रतिनिधिहरुको ठुलो संख्यामा स्थानिय सरकारमा प्रतिनिधित्व भएको छ । निर्वाचित जनप्रतिनिधिहरु आफ्नो पदभार ग्रहण गर्दै आफ्नो गाउँ समाजको विकास र परिर्वतनको खाका कोर्न गृहकार्यमा जुटिरहेका छन । आम जनतामा परिवर्तनको आशा पलाएको छ । आम जनतामा विकास, परिवर्तन र सम्भावनाका आशाहरु पलाए झै सिङ्गो दलित समुदायमा पनि अब केही हुन्छ है भन्ने आशाहरु जागृत भएको छ । प्रस्तुत लेखमा समाजमा जसलाई दलित वा अछुत भनेर चिनिन्छ तिनै दलित समुदायहरुको आशा एवम अपेक्षाहरुलाई भरखरै नव निर्वाचित जनप्रतिनिधिहरुले कसरी सम्वोधन गर्ने भन्ने विषयमा केही चर्चा एवम परिचर्चा गर्न खोजिएको छ ।

विश्व आज एउटा यस्तो युगमा प्रवेश गरिरहेको छ, जुन युगको परिकल्पना सपनाको काल्पनिक संसारबाट पनि गर्न सकिदैन । चन्द्रमा, जसलाई हामी भगवान भनेर पुजा गर्दछौ, जहाँ मानव बस्ती बसाल्ने योजनाको तर्जुमा हुदैछ । हिजो संविधान निर्माणको क्रममा हामी मानव जातिको एउटा हिस्सा जसलाई हामी दलित वा अछुत भनेर भनिरहेका छौ । तिनै समुदायको हक अधिकार सुनिस्चितता गरियोस भनेर आन्दोलन मार्फत आवाज उठायौ तर विश्वका धेरै राष्ट्रहरुमा पशुजन्य जनावरहरुको हक अधिकार र सुरक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा नियम कानुनहरु लेखिदैछन । बिश्वले आज मानव जातिको संख्या धेरै भयो अव पृथ्वीले थेग्न सक्दैन भनेर अर्को बिकल्प खोजिरहेको छ तर हामी भने जातिय छुवाछुत, बिभेद र भेदभावमा अल्झिरहेका छौ । मानव जातिको भौतिक सुख सुविधाको लागि रोबर्ट र मेसिनहरुले आज बिश्व भरिदैछ, तर हामी भने फलानो जातिले पकाएको वा छोएको खान हुदैन भनेर किचकिच गरिरहेका छौ । जनसंख्याको बढ्दो बृद्धिदर र उत्पादनको कमीको कारण बिश्वले आज कसरी बैकल्पिक खाद्यान्न उत्पादन गर्न सकिन्छ भनेर पलास्टिक र रबर लगायतका चिजहरुमा केमिकलको माध्यमबाट परिक्षण गरिरहेको छ, तर हामी भने एउटा मान्छेले अर्को मान्छेलाई छोयो भनेर कच्चरी बस्नमै दिनहरु बिताईरहेका छौ । भौतिक बिज्ञानका युगान्तकारी चमत्कारले बिश्व आज झन भन्दा झन साँधुरिदै गहिरहेको छ । बिश्वका कतिपय दार्शनिक एवम बैज्ञानिकहरुले सिङ्गो बिश्वलाई ध्यचमि ख्ष्ििबनभ को संज्ञा दिईरहेको बर्तमान अवस्थामा हामी भने तं सानो जातको र म ठुलो जातको भन्दै मानवताको धज्जी उडाईरहेका छौ । नेपाली जनसंख्याको झन्दै एक चौठाई जनसंख्याको हाराहारीमा रहेको मानव जातिको समुदायहरुलाई पशुको भन्दा तल्लो स्तरको जीवन बिताउन बाध्य पारिएको छ । एउटै धर्मका मानिसहरु भए पनि जातको कारण कोही मन्दिर भित्र र कोही बाहिर बसेर आफ्ना भगवानलाई पुकारीरहेका छौ । मानव जात एउटै, काटे रगतको रङ एउटै, बोल्ने भाषा लवाज एउटै, खाने खाना अनाज एउटै, लगाउने लत्ता कपडा एउटै, तिर्खा एउटै, प्यास एउटै, काम गर्ने कला सिप एउटै तर पनि कथित जातियताको कारण यहाँ कोही सानो भईरहेका छौ त कोही ठुलो बनिरहेका छो । यही हो नेपाली समाजको बास्तविक रुप । नेपालको कुल जनसंख्याको झन्डै एक चौठाई मानव समुदाय आज यही कलङ्कित रुपको सिकार बनिरहेका छन ।
वास्तवमा हामी एक्काईसौँ सताब्दीको युगमा पनि यही कलङ्कित रुपका आवरण भित्र बाँचिरहेका छौ र बाँच्न विवश भईरहेका छौ । चेतनशिल प्राणी मानव जातिको उपमा पाएर पनि पशु सरहको जीवन जिउन बाध्य पारिएको छ । र हामी भने यसैमा हो मा हैसे गर्दै नाँचिरहेका छौ । वास्तविकतालाई भुलेर वा जान्न नखोजेर यही समाज नै स्वर्गमय समाज हो भन्थानेर यही समाजको कुसंस्कार र प्रथाको गुनगान गाईरहेका छौ । कुनै बेलाका राजा महाराजाले आफ्नो हितका लागि बनाईदिएको चलनलाई दैवी शक्ति वा ईश्वरले रचेको चलन हो भन्नेमा स्वरमा स्वर मिलाउदै यही अमानविय कुप्रथाको भजन भजिरहेका छौ । सभा सम्मेलन, सेमिनार, गोष्ठीहरुमा दलित मुक्ति र जातिय समानताको चर्को भाषण फलाके पनि आफ्नो घर समाजमा भने यही रुढिबादी कुसंस्कारको गायत्री मन्त्र जप्न मै व्यस्त बनिरहेका छौ । समाजका शिक्षित र सचेत ब्यक्तिहरुले दलित समुदायलाई ठिक्क पार्न लुकेर वा कसैले नदेख्ने गरि संगै बसेर खाएपनि सार्वजनिक भोज भतेर, पुजा आजा वा आफ्नो घरमा संगै बसेर खान नपरोस भन्नमै रुचाउछन । भने कतिपय ब्यक्तिहरुले बाहिर संगै बसेर खाएपनि जव आफ्नो घरमा गएपछि बाबा आमाले अल्ली किचकिच गर्छन, हामी त ठिकै छौ नि, दुख नमान्नुहोला है भन्दै फेरि उही ब्यवहार दोहो¥याउन पुग्छन । कतिपय घरहरुमा दलितहरुलाई खुवाउने भाँडाहरु अलग्गै कुनै रुखको जरा वा चर्पीको छानामा राखिएको हुन्छ । दलितहरुले बसेर खाना खाएको ठाउँ खाना खाइसकेपछि गोबर माटोले राम्ररी पोत्न लगाईन्छ र खरानी पानी वा सावुन पानीले सफा गरेको थाल कचौडा दलित भएकै कारण कुनै कुष्ठ रोगीले खाएको झै गरि घाममा सुकाएर त्यसमाथी सुनपानी र आगोको कोइलाले चोख्याएर मात्र भित्र लगिन्छ । हाम्रो समाज यस्तो छ कि दिसा खाने कुकुर कुनै उपल्लो जातिको घरभित्र पसे केही हुदैन । बिरालो, मुसा लगायतका जनावरहरु भित्र पसेर खानेकुरा छुने मात्र होईन जुठो हाले पनि त्यसलाई त्यति महत्व दिईदैन तर आफुले जस्तै अन्न खाने दलित समुदायको मान्छे आफ्नो घरभित्र पस्यो भने घरको धुरी उघारेर सूर्यको किरण भित्र छिराएर चोख्याउने गरिन्छ । सार्वजनिक भोज भतेरमा कुनै दलितले आफ्नो आत्मसम्मान भएन भनेर जातिय समानताको आवाज उठाउदा न्याय दिनुको सत्ता झन उसलाई गाली बेइजत गर्दै कुटदै पिटदै बाहिर निकालिन्छ । पानी लिन धारामा गएको दलित महिला अन्जानबस कथित उपल्लो जातिले भरेको पानीको गाग्री छोइयो भने तथानाम बेइजत तथा कुटपिट समेत गरिन्छ । तोते तोते बोल्ने एउटा अवोध दलित बालक झुक्किएर कुनै उपल्लो जाति छिमेकीको घरमा पस्यो भने उसलाई गलत्याएर बाहिर निकालिन्छ । हामी अन्यायमा पर्यौ न्याय चाहियो भन्दा तिमीहरुलाई के को न्याय चाहियो ? भनेर न्याय दिनु त परै जाओस मुद्दा समेत दर्ता गरिदैन । दलितहरुलाई शसक्तिकरण गर्नु पर्यो भनेर सम्बन्धित निकाय तथा गाउँ नगर परिषदहरुमा आवाज उठाउदा तिमी दलितहरुलाई किन शसक्तिकरण चाहियो ? मोटरबाटोमा तिमीहरु हिड्नु पर्दैन ? बिद्यालयमा दलितहरु पढ्दैनन् ? दलितहरुले बिजुली बाल्नु पदैन ? भन्दै राज्यबाट दलितका लागि आएका रकम तथा कार्यक्रमहरु पनि दलितका लागि नभएर अन्य काममा खर्च गरिन्छ । यि र यस्ता घटनाहरु हामी दलितहरुको जीवनमा दैनिक घट्ने घटनाहरु हुन । तर हामी यी र यस्ता घटनाहरु देखेर पनि नदेखे जस्तै गरिरहेका छौ । सुनेर पनि नसुने जस्तै गरिरहेका छौ । बरु रमिते बनेर ताली बजाउदै रमिता हेरेर बसेका छौ ।
भरखरै सम्पन्न स्थानिय तहको निर्वाचन मार्फत समावेशी र समानुपातिक सिद्धान्तको आधारमा दलित प्रतिनिधिहरु सहित ठुलो संख्यामा जनप्रतिनिधिहरुले स्थानिय सरकारमा प्रतिनिधित्व जनाएका छन । यति धेरै संख्यामा दलित जनप्रतिनिधिहरुको प्रतिनिधित्व हुनु नेपालकै ईतिहासमा यो पहिलो पटक हो । पुस्तौ पुस्तादेखि दलितहरुले जे समस्या भोगिरहेका छन, यो समस्या केवल दलितहरुको मात्र समस्या हो भनेर बुझ्नु गलत हो । दलितहरुको समस्या दलितहरुको मात्र समस्या होइन यो राष्ट्रको समस्या हो । सिङ्गो राज्य समस्या हो । सिङ्गो समाजको सामाजिक समस्या हो । समृद्ध राष्ट्र निर्माण अभियान र सभ्य समाज निर्माणको अभियानमा दलित मुक्तिको प्रश्न अब एक महत्वपुर्ण प्रश्न बन्नु आवश्यक छ । समाजमा मानव भएर पनि पशु सरहको जीवन यापन गर्न बाध्य पारिएको मानव समुदायको एउटा हिस्सालाई उत्पिडनको जंजिरबाट मुक्त गराउनु हामी सबैको कर्तब्य हो । अहिले सम्म दलितहरुको समस्यालाई केबल एक पक्षको मात्र समस्या हो भनिएको छ । दलित मुक्ति आन्दोलन हालसम्म सही निष्कर्षमा पुग्न नसक्नुको एउटा कारण यो पनि हो भन्नुमा त्यति अन्युक्ति नहोला । अब हामी एक पक्षिय रुपमा होइन सिङ्गो दलितहरुको समस्यालाई साझा समस्याको रुपमा ग्रहण गरि अन्तरघुलनको माध्यमबाट समधान उन्मुख हुनु आबस्यक छ । कथित जातियताको कारण मान्छेलाई समाजमा अन्तरघुलन हुनबाट बन्चित गरेको छ । हामी बिचमा अन्तरघुलन हुदै अब तल्लो जात र उपल्लो जातको पुख्र्यौली पगरी फुकाल्नुपर्ने बेला आएको छ । लामो समय पछि समाजका अगुवाहरु एवम स्वयम दलितहरु पनि स्थानिय सरकारमा प्रतिनिधित्व भएको यो स्वर्णिम अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुले गाउँ समाजको विकास संगै सिङ्गो दलितहरुको उत्थानमा पनि प्रभावकारी कदम चाल्नुपर्दछ । सर्वप्रथम त संविधानले दिएको अधिकारहरु पूर्ण रुपमा कार्यान्वयनमा जोड दिनुपर्दछ । कानुनी रुपमा जातिय छुवाछुत आज भन्दा धेरै बर्ष पहिले नै नेपालबाट अन्त्य भइसकेको हो तर व्यवहारमा कार्यान्वयन हुन सकेन । अब त्यसलाई कडाइका साथ व्यवहारमा कार्यान्वय गर्न अवका जनप्रतिनिधिहरुको महत्वपुर्ण भुमिका हुनुपर्दछ । आवश्यक बजेट सहितको दलित सम्बन्धी एउटा बिभाग नै गठन गरी दलित समुदायकोे हरेक समस्याहरु समाधान गर्न स्थानिय सरकार प्रतिबद्ध हुनुपर्दछ । आर्थिक अभावका कारण दलितहरुले अशिक्षा, अज्ञानता र गरिबीको मार खेपिरहनु परिरहेको छ । त्यसैले उनिहरुको आर्थिक उपार्जनमा बढि भन्दा बढि जोड दिई आर्थिक उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने दखिन्छ । साथै दलित युवाहरुलाई स्वरोजगारको वातावरणको सिर्जना गरि उनिहरुको आर्थिक अवस्थामा सुधार ल्याउन प्रयत्नशिल रहनुपर्दछ । बर्षौ भरि काम गरेर मुस्किलले दुई तिन पाठी अन्न ल्याउने पुरानो बालिघरे प्रथालाई समुल अन्त्य गरि नगदमा काम गर्ने वाताबरणको सिर्जना गर्नु पर्दछ । दलितहरुको सिप कलालाई संरक्षण, सम्बद्र्धन र विकास गर्दै आधुनिकिकरण गर्दै लैजानु पर्दछ । त्यसको लागि स्थानिय सरकार मार्फत थप ज्ञान सिप र कलाको तालिम सञ्चालन गर्दै आधुनिक औजारहरुको ब्यवस्था मिलाउनु पर्दछ । नेपाली दलित मुक्ति आन्दोलनको उपज, संविधानले दिएको अधिकारहरु ब्यवहारमा परिणत गराउन अबका जनप्रतिनिधिहरु प्रतिवद्ध हुनु आवस्यक छ । दलितहरुलाई राज्यले केही सिमित अधिकारहरु पहिले देखिनै दिए पनि पहुचको कमीको कारण ति सेवा सुविधाबाट बन्चित हुनुपरेको छ । अब जनप्रतिनिधिहरु मार्फत सेवा प्रदायक निकायमा सजिलै संग पहुच पुराउन सक्ने बातावरणको सिर्जना गर्नु पर्दछ । हिजो एन. जि. ओ.÷आई. एन. जि. ओ. मार्फत दलितको नाममा थुप्रै रकमहरु आए तर ति सबै योजना तथा कार्यक्रमहरु केवल तलब र भत्ता पचाउनमै खर्चिए । अब तिनीहरु सहयोगी मात्र बन्नु पर्दछ । दलितहरुको समस्या समाधान गर्ने कार्यक्रम अव एन. जि. आ.े÷आई. एन. जि. ओ. मार्फत होईन स्वयम दलितहरुको समेत प्रतिनिधित्व भएको स्थानिय सरकार मार्फत बन्नु पर्दछ । जनप्रतिनिधियुक्त स्थानिय सरकार आयोजक र गैर सरकारी संघ संस्थाहरु त्यसको सहयोगी बनेर शसक्तिकरण लगायतका अन्य चेतनामुलक, जागरणरुपी र परिवर्तनमुखी कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । दलितहरुमा शैक्षिक जागरण ल्याउने शिक्षामुखी कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्दछ । शसक्तिकरणमा बढि भन्दा बढि जोड दिइ दलित शसक्तिकरणको माध्यमबाट राज्यको मुल धारमा ल्याउन हरेक जनप्रतिनिधिहरु प्रयत्नशिल रहनुपर्दछ । राज्यको बिभिन्न सेवा सुविधाबाट बन्चितिकरणमा रहेका दलितहरुलाई जनप्रतिनिधि मार्फत राज्यले दिएको सेवा सुबिधा र अवसरहरु उनिहरुको पहुच सम्म पुराउन हरदम पहल गर्नु पर्दछ । विकासका पुर्वाधारहरु दलितमैत्री र उपयोगी बनाउन जोड दिनुपर्दछ । कतिपय दलित प्रतिकुल ऐनहरु परिमार्जित गरि प्रभावकारी ऐनहरु निर्माण तर्फ प्रयत्नशिल रहनुपर्दछ । साथै स्वयम दलित जन प्रतिनिधिहरु पनि आफ्नो कार्यकालमा आफुलाई सक्षम र सवल प्रतिनिधिको रुपमा स्थापित गर्न प्रयत्नशिल रहनु पर्दछ ।
२०७४ असार ८ गते प्रकाशित









