
बागलुङ, ११ जेठ
बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनक पौडेलले मजदुर किसान वर्गको दैनिकीसँग प्रत्यक्ष जोडिएको इरेक्सा व्यवसायलाई तत्काल संचालन गर्ने बताउनुभएको छ ।
भीमापोखरा युवा क्लब (विवाईसी) बागलुङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मेयर पौडेलले जनउत्तरदायि काम गर्नको लागि नीति नियममा अडिग रहि जनप्रतिनिधिहरुले जोखिम मोल्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै पौडेलले बागलुङ नगरपालिकाको खानेपानी व्यवस्थापनलाई सुधार गर्नको लागि छिमेकी काँठेखोला गाउँपालिकासँग समन्वय गर्ने पनि बताउनुभएको थियो ।
कार्यक्रममा बौल्दै काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जनताको चाहना अनुसार आफ्नो ५ वर्षे कार्यकाललाई समृद्ध गाउँपालिका र सुखि गाउँबासी निर्माणमा लाग्ने बताउनु भएको छ ।
कार्यक्रममा विवाईसी बागलुङका सल्लाहकार टिकाराम सापकोटा, नेकपा एमालेको जलस्रोत तथा उर्जा विभागका सदस्य हिरा केसी, विसाईसीका सल्लाहकार डिल्लीराज गौतम र काँठेखोला गाउँपालिका वडा नम्बर ८ की वडा अध्यक्ष चित्रकला छन्त्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विवाईसी बागलुङका कार्यवहाक अध्यक्ष मनिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष दिपक गौतम र संचालन सचिव तोयानाथ गौतमले गर्नुभएको थियो ।










