सुन्दर नगरको लागि व्याख्या हैन काम गरौंः मेयर पौडेल

अर्जुन कार्की
बागलुङ, ११ जेठ
बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनक पौडेलले बागलुङ नगरलाई सुन्दर तथा सम्बृद्धिको लागि अब धेरै व्याख्या गरेर भन्दा पनि काम गरेर देखाउने बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य संघ बागलुङले बिहीबार आयोजना गरेको बागलुङ नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पौडेलले सुन्दर नगरको लागि सवैले धेरै व्याख्या गरिसकेको बताउँदै अब त्यसलाई कार्यान्वयन गरेर देखाउने बेला आएको बताउनुभएको हो ।
मेयर पौडेलले सधै बागलुङ नगरपालिका भित्र धेरै पर्यटकीय क्षेत्रहरु छन्भन्नुभन्दा पनि नगरलाई पर्यटकीय गन्तव्य बनाउनको लागि बागलुङ उद्योग वाणिज्य संघले पर्यटकहरुको लागि उत्कृष्ट होटलहरुको स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
पौडेलले अहिले एक वडा एक उत्पादन लाई प्राथमिकता दिएर बागलुङको उत्पादन के हो भन्ने बारे जानकारी गराईने बताउनुभयो । हामी धेरै निर्यातकर्ता भयौं मेयर पौडेलले भन्नुभयो– ‘अब त्यसको अन्त्यको लागि सवैले केहीन केही उत्पादन तर्फ लागौं ।’ आफुहरुले धार्मिक पर्यटनको बिकासको लागि बागलुङको कालिका भगवती मन्दिर देखि पञ्चकोट सम्म सहजरूपमा धार्मिक पर्यटन लैजान नगरपालिकाले भुमिका खेल्ने पौडेलले बताउनुभयो । पौडेलले पञ्चकोटमा होटल स्थापना गर्ने र कालिका देखि पञ्चकोटसम्म यातायात संचालन गर्नको लागि नगरपालिकाले गर्नुपर्ने सेवाहरु गरिदिने बताउँदै त्यसको लागि उद्योग वाणिज्य संघले होटल स्थापना र यातायात संचालन गर्नको लागि आग्रह गर्नुभएको छ ।
यस्तै उपमेयर सुरेन्द्र खड्काले कालीगण्डकी कोरिडोरलाई बागलुङबाटै जोमसोमसम्म लैजानको लागि नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । उहाँले आफुहरुले निर्वाचन अगाडी मतदातासँग मतमाग्न जाँदा नगरपालिकाको सडकहरुको दुरदशादेखेको बताउँदै त्यसको सहि व्यवस्थापनको लागि सडकको स्तरोउन्ती गरिने बताउनुभएको छ । उपमेयर खड्काले बलेवा विमानस्थलमा ३ वर्षसम्म सुचारु गराउने, बागलुङ नगरमा नगरबस संचालन गर्ने लगायतका चुनावी घोषणापत्रमा समावेश गरीएका सवै घोषणाहरुलाई कार्यान्वयन गरिने बताउनुभयो ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघले नगर प्रमुख जनकराज पौडेल उप प्रमुख सुरेन्द्र बहादुर खड्का र १४ जना वडा अध्यक्षहरूलाई फूलमाला खादा र अबिर लगाएर संघका अध्यक्ष जयराम भारीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश नम्बर ४ का केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बागलुङ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष शैलेन्द्र कुुमार श्रेष्ठ होटल ब्यबसायी संघका जिल्ला अध्यक्ष निलेश राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र संचालन महासचिव दयाराम पौडेलले गर्नुभएको थियो ।