आराधना ! 

गौतम मनीष
छन्द : मालिनी
शिशिर उदय भैगो प्यार दिन्नन् मुमाले ।
परिचय सब अाफ्ना पुत्रले भुल्न थाले ॥
जलद छ अझ खोक्रो पात झै सुक्छ देह ।
अब मरण सही हो जिन्दगानी छ हेय ॥ १..
कलुषित मन पाले सृष्टिले पूज्न थाल्छ ।
कलि समय छ दोषी पाप कस्ले पखाल्छ ?
प्रबल तम विरोधी ज्योती कुन पाइएला ।
भन न शिव जगत् यो के गरे चम्किएला ॥ २..
कपट र छल गर्ने रोग यो सल्बलायो ।
गहनतम अहंको अग्नि अायो जलायो ॥
शशि डरसित बस्छन्, शीत फालेर खेर ।
अवनितल बचाऊ अाउ गङ्गा लिएर ॥ ३..
म जग रचयिता हुँ भन्छ मान्छे छ दुष्ट ।
नगर सहन अाऊ बन्नुपर्नेछ रुष्ट ॥
निखिल भ्रम फुटाऊ शूल तातो निकाल।
शिव-गण छ पुकार्दै पाउ तिम्रो उचाल ॥ ४..
विचलित पथ चुन्छन् दृष्टिछन् अल्प ज्ञानी ।
चरण पनि कुबाटो रोज्छ अानन्द मानी॥
प्रणय बिच फसेका भावना शुद्ध पार ।
प्रलय गर समाधी-बाट अाँखा उघार॥ ५..