
काबुल, २५ फाल्गुन
अफगानिस्तानको सबैभन्दा ठुलो सैनिक अस्पतालमा डाक्टरको पहिरनमा गएका आइएसका लडाकुहरुले आक्रमण गर्दा मर्नेको संख्या ३० पुगेको छ । आक्रमणमा परी ५० जना बढी घाइते भएका छन् । त्यहाँ अफगानी सैनिकका कमाण्डोहरु हेलिकप्टर मार्फत छतबाट प्रवेश गरी आतंककारीहरुसँग भिडेका थिए ।
४०० बेडको उक्त अस्पतालमा गरिएको आक्रमणले सबै मानवीय सम्वेदना खिल्ली उडाएको अफगानिस्तानका राष्ट्रपति असरफ घानीले टिप्पणी गरेका छन् । ‘कुनै पनि धर्ममा अस्पताललाई पवित्र र अत्यन्तै सम्मानजनक रुपमा हेर्ने गरिन्छ । यो आक्रमण सैनिक अस्पतालमा मात्रै नभएर पुरै अफगानिस्तान माथि गरिएको हमला हो,’ उनले भने ।
स्थानीय समय अनुसार बिहान ९ बजे मुख्य गेटमा बम बिस्फोट गराएर अस्पताल हातामा प्रवेश गरेर आक्रमण भएको थियो । त्यसपछि सैनिक र आतंककारीबीच घण्टौं भिडन्त चलेको थियो । आतंककारीहरुले अस्पतालमा कार्यरत डाक्टर लगायत बिरमी र तीनका आफन्तमाथि अन्दाधुन्द गोली प्रहार गरेका थिए ।
अघिल्लो महिना अफगानी सर्वोच्च अदालतमा आइएसले गराएको आत्मघाती हमलामा परी २२ जनाले ज्यान गुमाएका थिए । बीबीसी








