बागलुङ, १४ माघ
प्रेस चौतारी नेपाल बागलुङले यस बर्षदेखी प्रदान गर्न लागेको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७३’ पत्रकार हरिनारायण गौतमलाई प्रदान गर्ने भएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको पुरस्कार छनोट समितिको शुक्रबार सम्पन्न बैठकले पत्रकार गौतमलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
जिल्लाको पत्रकारितामा क्रियाशिल र निरन्तरताका आधारमा गौतमलाई पहिलो पटक पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिका सदस्य तथा प्रेस चौतारी बागलुङका उपाध्यक्ष नवीन शिशिरले बताउनुभयो । ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रि प्रर्दशनबाट संकलित रकम मध्येको १ लाख रुपैयाँबाट स्थापना गरिएको पुरस्कारको राशी नगद १० हजार १ सय रहेको छ । उक्त पुरस्कार माघ २२ गते प्रेस चौतारीको १९ औँ स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।
२०५३ सालमा सौर्य साप्ताहिक पत्रिकामा संवाददाताको रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका गौतम हाल नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष समेत भइसकेका गौतम २०५५ सालदेखी धौलागिरी स्टार साप्ताहिक र २०६० सालदेखि ढोरपाटन राष्ट्रिय दैनिकको सम्पादकको रुपमा कार्यरत रहनुभएको छ ।
गौतम यसअघि प्रेस चौतारी नेपाल केन्द्रीयले स्थापना गरेको क्रियाशिल युवा प्रेस चौतारी पुरस्कार, रेडियो अन्नपूर्णले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार र उत्कृष्ट संवाददाता राजधानी दैनिकको पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।










