पर्वत, ११ माघ
गोरु काटेर खाएको आरोपमा पर्वतको चित्रे गाविस-५ का रामबहादुर आइते र चित्रे-९ का मिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले गौवद मुद्दामा दुई आरोपितलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराइको एकल इजलासले मुद्दा दायर भएकै दिन ७ माघमा दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपित दुवै जनाले पुस १८ गते गोरु काटेर खाएको कसुर पेश भएको थियो ।
उनीहरु दुवै जनालाई मुलुकी ऐनको चौपाय महलको १ नम्बर विपरित कार्य गरेको भन्दै चौपाय महलको ११ नम्बर बम्मोजिम कार्बाहीको माग दावी गरिएको छ । चौपाय महलको ११ नम्बरमा आरोपितलाई माग बम्मोजिमको कसुर ठहरेमा १२ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।










