दुर्गाप्रसादको प्रयासमा कालिगण्डकी नदीबाट २ सय वाट विद्युत उत्पादन

म्याग्दी, १९ पुस
विगत तीनबर्ष देखी म्याग्दीको सदरमुकाम बेनीका एक ब्यक्तिले कालिगण्डकी नदीमा विद्युत उत्पादन गरिरहेका छन् । म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक समेत रहेको दुर्गा प्रसाद श्रेष्ठले सडक बत्ती र घरायसी प्रयोजनका लागि २ सय वाट उत्पादन गरिरहेका छन् । ‘अहिले दुईसय वाट उत्पादन भइरहेको छ । एकहप्ता भित्र पाँचसय वाट विद्युत उत्पादन हुन्छ’ श्रेष्ठले भने ।
पिको हाईड्रो अन्र्तरगत करिव डेढ मिटर हेडमा प्रति सेकेण्ड १ सय लिटर पानीबाट उत्पादन भइरहेको विद्युत बेनपा–६ मा रहेका सडक बत्तीका साथै श्रेष्ठले आफ्नो कारखानामा समेत प्रयोग गरिरहेका छन् । उनले पाँचसय वाट क्षमता बराबर उत्पादन भए बेनपा–६ मंगलाघाट बाहेक आवश्यक सडक बत्ती विस्तार गर्न सकिने बताए ।

उनले बर्खामा भत्काउनुपर्ने भएकाले अस्थायी संरचना बनाएर उत्पादन भइरहेको अवस्थामा यसबर्ष पानीको ब्यवस्थापन गर्न समस्या भइरहेको बताए । उनले सम्बन्धित निकायबाट आवश्यक सहयोग भए दुई किलोवाट सम्म एकै ठाउँबाट उत्पादन गर्न सकिने बताए । विगत २०५७ साल देखि उर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले म्याग्दी र कालिगण्डकीका विभिन्न स्थानको सर्वे समेत गरेका छन् । उनले कुलो निर्माणका साथै टरवाइन, जेनेटर र पाईपको रुपमा काठको प्रयोग गरेका छन् । एक हजार वाट बराबर एक किलोवाट हुन्छ ।
किलोवाटबाट १ सय चिम बाल्न सकिन्छ । दुईसय वाट निकाल्न करिव ८० हजार खर्चिएका छन् । श्रेष्ठलाई प्रोत्साहन गर्न सकिए दैनिकजसो भइरहेको अनियमित लोडसेडिङलाई समेत हटाउन सकिने भएपनि सरोकारावाला निकायको बेवास्ताका कारण योजना अनुसार काम गर्न सकेका छैनन् । सदरमुकाम बेनी आसपासका क्षेत्रबाट पिको हाईड्रोको सम्भावना रहेकाले सरोकारावाला निकायले सहयोग गरेमा बेनीबजारभित्र धेरै ठाउँमा आफुँले काम गर्न सक्ने श्रेष्ठको भनाई छ । उनलाई वडा नागरिक मञ्च लगाएत टोल सुधार समितिबाट समेत सहयोग भइरहेको छ ।