
बागलुङ, १७ पुस
मौसम बदली भई वर्षा भएपछि धौलागिरी क्षेत्रमा जाडो सुरु भएको छ ।
शनिबार अचानक वर्षा भएपछि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा जाडो बढेको हो ।
वर्षा पछिको हिमपात सँगै माथिल्लो क्षेत्रका बस्तीहरुमा अत्याधिक चिसो बढेको छ । हिउँद लागे यता लामो समय पछि वर्षा भएकोले तल्लो क्षेत्रका कृषकलाई भने कृषि उत्पादनमा राहत मिल्नेमा आसावादी रहेका छन ।
यसैबीच, केही साता यता, धौलागिरी अंचल अस्पतालमा चिसोसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ । चिसोले दीर्घरोगी, रक्तचाप असन्तुलन भएका तथा बालबालिका र वृद्धवृद्धालाई छिट्टै असर गर्छ । रुघाखोकी र ज्वरोका बिरामीलाई विशेष सावधानी अपनाउन डाक्टरले सल्लाह दिएका छन् ।
चिसोमा सकेसम्म घर बाहिर ननिस्कन र निस्कनुपर्दा न्यानो कपडा लगाउन उनीहरुको सुझाव छ । रुघाखोकी र ज्वरो एक दुई दिनमा ठिक नभए तुरुन्त जाँच गराउनुपर्छ । स्वास्थ्य जाँचमा ढिलाई भए निको हुन समय लाग्न जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताउनुभयो ।
यस्तै जाडोमा रोटा भाइरस पनि सक्रिय हुने हुँदा झाडापखालाको जोखिम पनि यतिबेला धेरै हुने उहाँले बताउनुभयो ।स्वस्थ खानेकुरा र पानीको अभावसँगै बस्ने ठाउँ पनि तातो न्यानो नहुनुले रोगको संक्रमणको जोखिम धेरै हुन्छ ।
आगो बालेर न्यानो गरी बस्न, तातो झोल कुरा खान, उमालेको पानी मात्र पिउन, खाना खानु र खुवाउनु अघि सफासँग हात धुन र चर्पीमा मात्र दिसापिसाब गर्न खनालको सुझाव रहेको छ ।










