मोसुलबाट पछि हट्ने होइन : आइएस प्रमुख बगदादी

काठमाडौं, १८ कात्तिक
आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) का नेता अबु बक्र अल बगदादीले आफ्ना लडाकुहरूलाई मोसुल शहरमा बसेर इराकी सेनाको प्रतिकार गर्ने आज्ञा दिएका छन् ।
अमेरिकाको सहयोगमा इराकी सेनाले मोसुलका बाहिरी इलाकामा कब्जा गरिसकेको अवस्थामा बगदादीको यो भनाई सार्वजनिक भएको हो ।
मोसुलमा नै दुई वर्षअघि बगदादीले खलिफा घोषणा गरेका थिए ।
‘पछि हट्ने हैन,’ बगादादीको स्वर एउटा ध्वनि सन्देशमा गुञ्जियो । यो सन्देश आइएसको अल फुर्कान मिडियाले बिहीवार बिहानै प्रसारण ग-यो ।
‘गर्वका साथ आफ्नो जमिनको रक्षा गर्नु लज्जास्पद तरिकाले पछि हट्नुभन्दा हजारौं गुणा सजिलो छ,’ उनले भने । उनले एक वर्षपछि यस्तो सन्देश प्रसारण गरेका हुन् ।
बगदादीको स्वास्थ्य कमजोर भएको हल्ला चलेको छ । उनी ठ्याक्कै कहाँ छन् भन्ने खुलेको छैन ।
सन् २०१४ को जुन महिनामा जिहादी लडाकुहरूले इराकका ठूलो भूभागमा कब्जा जमाएपछि मोसुलमा दुर्लभ दर्शन दिँदै बगदादीले इराक र सिरियालाई छुनेगरी इस्लामिक स्टेट घोषणा गरेका थिए ।
यो खलिफा गत वर्षदेखि खुम्चिँदै गएको छ अनि इराकी सेनाहरू यही हप्ता मोसुल पुगेका छन् । इराकमा आइएसको आधार इलाका मोसुल नै हो ।
अमेरिकाले नेतृत्व गरेको गठबन्धनले मोसुलमा तीन हजारदेखि पाँच हजारसम्म आइएसका लडाकु भएको अनुमान गरेका छन् । यो युद्धको अन्तिम परिणाम आइएसको पक्षमा जाने सम्भावना देखिँदैन ।

एएफपी/द टाइम्स अफ इन्डिया