रुसी राष्ट्रपतिको कार दुर्घटनाग्रस्त (भिडियो)

मस्को, २२ भदौ
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो । मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो ।
दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ ।
रूसी अधिकारीहरुका अनुसार पुटिनका अनुभवी चालकले उक्त कार गुडाएका थिए । उक्त कार रूसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ ।
पुटिनको कारसँग ठोक्किएका मर्सिडिज कारका चालक गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ ।
घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ । दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन । यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ । (एजेन्सी)