बंगलादेशका वरिष्ठ नेतालाई फाँसी

काठमाडौं, १९ भदौ
बंगलादेश सरकारले देशको सबैभन्दा ठूलो पार्टी जमात ए इस्लामीको एक नेतालाई फाँसी दिएको छ । युद्ध अपराधको आरोपमा नेता मीर कासिम अलीलाई फाँसी दिइएको हो । अली देशका ठूला उद्योगपतिहरुमध्येका एक हुन् ।
युद्ध अपराधको आरोपमा फाँसी दिइएका अली बंगलादेशका छैटौं ठूला नेता हुन् । हालको सरकारले गठन गरेको एक विशेष अपराध न्यायालयले अलीले ४५ वर्ष अघि बंगलादेशको स्वतन्त्रताको लडाईंमा युद्ध अपराध गरेको ठहर गरेको थियो ।
अलीलाई दोषी ठहर्‍याउँदै अदालतले फैसलामा भनेको थियो- उनको नेतृत्वमा पाकिस्तानी सेनाका समर्थकहरुले चिटगाउँमा कत्लेआम गरेका थिए ।
पूर्वी पाकिस्तान सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो । हालको सरकारका आलोचकहरुले राजनीतिक विरोधीहरुलाई अन्त्य गर्न सरकारले अदालतको सहारा लिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री शेख हसीना नेतृत्वको सरकारले युद्ध अपराधीहरुलाई सजायँ दिएर देशलाई आफ्नो इतिहाससँग न्याय गर्न मद्दत मिल्ने दावी गरेको छ ।