म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा

लन्डन, १३ भदौ
स्टार्लिङको २ गोलको मद्धतले म्यानचेस्टर सिटीले आइतबार राति सम्पन्न खेलमा वेष्ट हामलाई ३-१ गोलले पराजित गरेको छ । यो नतिजासँगै पेप ग्वार्डिओलाको टिम इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।
आइतबार केही समयअघि सम्पन्न खेलमा स्टार्लिङले खेल सुरु भएको ७ तथा निर्धारित ९० मिनेटपछि थप गरिएको २ मिनेटमा गोल गरेका थिए । यसअघि १८ मिनेटमा फेर्नान्डिन्होले पनि गोल गरेका थिए । वेष्ट हामबाट ५८ मिनेटमा आन्टोनियोले गोल गरेका थिए ।
सिटीले अघिल्लो तीन खेलमा सतप्रतिशत नतिजा निकालेको छ । चालु प्रिमियर लिगमा सिटीसँगै म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि आफ्नो तीन खेलमा विजयी सुरुवात गरेका छन् । सन् २०११–१२ को सिजनपछि दुवै म्यानचेस्टर टोलीले अघिल्लो ३ खेलमै विजय प्राप्त गरेको यो दोस्रो अवसर हो ।
यस्तै, प्रिमियर लिगको अर्को खेलमा वेष्ट ब्रोमले गोलरहित बराबरीमा मिड्ल्सब्रोगलाई रोकेको छ । मिड्ल्सब्रोग हाल ५ अंकका साथ छैटौं स्थानमा छ । ब्रोम भने ३ अंकका साथ १२ औं स्थानमा रहेको छ ।